रूसमा फेरि बढ्न थाल्यो कोरोना

रूसमा फेरि बढ्न थाल्यो कोरोना

काठमाडौं । रूसमा कोरोनाभाइरसको संक्रमण बढ्न फेरि थालेको छ। पछिल्लो समय राजधानी मस्कोलगायत क्षेत्रमा संक्रमित बढ्न थालेका हुन्। संक्रमितमध्ये धेरैलाई भारतमा फेला परेको डेल्टा भेरियन्ट देखिएको अधिकारीहरूले जनाएका छन्।

गत शुक्रबार मस्कोमा ९ हजार ५६ जना संक्रमित थपिएका थिए। मस्कोमा कोरोना महामारी सुरू भएपछि पहिलो पटक एकैदिन यति धेरै संक्रमित थपिएका हुन्। संक्रमण बढ्न थालेपछि मस्कोका अधिकारीहरूले कोरोना वार्डमा ५००० बेड थपेका छन्।

वर्ल्डोमिटरको आँकडाअनुसार रूसमा पछिल्लो २४ घन्टामा १७ हजार ९ सय ६ जना संक्रमित थपिएका छन् भने ४ सय ६६ जनाको मृत्यु भएको छ। रुसमा अहिलेसम्म ५२ लाख ९९ सय हजार मानिसमा कोरोना संक्रमण भएको छ भने १ लाख २८ हजारको मृत्यु भएको छ।

रूसी राष्ट्रपति भ्लादमिर पुटिनले संसारमै सबैभन्दा पहिला गत वर्ष अगस्टमा कोरोनाभाइरसविरूद्धको खोपलाई अनुमति दिएका थिए। स्पुतनिक– भी नामक उक्त खोपलाई अनुमति दिएको महिनौं बित्दा पनि रूसी नागरिकहरू खोप लगाउन हच्किरहेका छन्। विभिन्न अध्ययनहरूले स्पुतनिक–भी कोरोनाविरूद्ध प्रभावकारी रहेको देखाएका छन्।

न्युयोर्क टाइम्सका अनुसार अहिलेसम्म रूसमा जम्मा ९.९ प्रतिशत मानिसले मात्र पूर्ण खोप लगाएका छन्।

प्रकाशित मिति:     ६ असार २०७८, आईतवार  |    Himali Khabar