मधेश प्रदेशको प्रहरी कमाण्ड डीआईजी गोविन्द थपलियाले सम्हाले

मधेश प्रदेशको प्रहरी कमाण्ड डीआईजी गोविन्द थपलियाले सम्हाले

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको नेतृत्व डीआईजी गोविन्द थपलियाले सम्हालेका छन्। अनुशासित, अनुभवी र जनमुखी प्रहरी अधिकृतका रूपमा परिचित थपलियाले मधेश प्रदेशमा आफ्नो पहिलो प्राथमिकता शान्ति, सुरक्षा र अपराध नियन्त्रणलाई बनाउने प्रतिबद्धता जनाएका छन्।

२०५४ साल चैत १८ गते प्रहरी निरीक्षकका रूपमा सेवा आरम्भ गरेका थपलियाले आफ्नो तीन दशकभन्दा बढीको सेवाकालमा संगठनका विभिन्न तह र जिम्मेवारी सम्हाल्दै आएका छन्। जिल्ला प्रहरी कार्यालय रौतहट र धनुषाको प्रमुख, लागु औषध नियन्त्रण ब्यूरो प्रमुख, मानवश्रोत विकास विभागमा शाखा प्रमुखदेखि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र प्रदेश समन्वय विभागसम्म उनको यात्रा दक्षता, इमानदारी र परिणाममुखी नेतृत्वको बलियो प्रमाण हो।

डीआईजी थपलिया ‘लो प्रोफाइल’मा बसेर उत्कृष्ट कार्यसम्पादन गर्न रुचाउँछन्। लागु औषध नियन्त्रण क्षेत्रमा उनले पुर्‍याएको योगदान असाधारण मानिन्छ। ब्यूरो प्रमुख रहँदा उनले देशभर फैलिएको गाँजा खेती नियन्त्रणका लागि अभूतपूर्व अभियान सञ्चालन गरे। जसअन्तर्गत सयौँ रोपनी जमिनमा गरिएको अवैध खेती नष्ट गरिएको थियो। उनले गाउँ-गाउँमा पुगेर वैकल्पिक नगदे बाली प्रवर्द्धन र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न निर्देशन दिए, जसले प्रहरी-जनताको सम्बन्ध अझ सुदृढ बनायो। उनले साना अपराधीभन्दा पनि मूल अपराधिक सञ्जाल भत्काउने रणनीति अपनाए, जसको परिणाम स्वरूप ठूलो परिमाणमा लागु औषध र तस्करी गिरोह पक्राउ गरि कारबाहीको दायरामा ल्याएका थिए ।

उनको नेतृत्वमा प्रहरीको छवि “दण्ड मात्र होइन, सुसाशनको सन्देश दिने संस्था”को रूपमा स्थापित हुँदै गएको थियो। थपलियाले प्रहरी संगठनभित्र आन्तरिक सुधार र कर्मचारी प्रेरणामा विशेष जोड दिएका थिए। उनले कार्यस्थलमा पारदर्शिता, निष्पक्षता र जवाफदेहिता बढाउनका लागि समय-समयमा अभिमुखीकरण र तालिम कार्यक्रम सञ्चालन गरे।

मधेश प्रदेशमा बढ्दो सीमापार अपराध, तस्करी, आर्थिक ठगी र सामाजिक विवादका चुनौतीलाई दृष्टिगत गर्दै थपलियाले प्रहरीको उपस्थिति अझ प्रभावकारी र विश्वसनीय बनाउने योजना अघि सारेका छन्।

प्रकाशित मिति:     २९ आश्विन २०८२, बुधबार  |    Himali Khabar