ठमेलमा रहेको होटल आर्टस् काठमाडौंको सम्पत्ति लिलामीमा

ठमेलमा रहेको होटल आर्टस् काठमाडौंको सम्पत्ति लिलामीमा

काठमाडौं । सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ठमेलमा रहेको होटल आर्टस् काठमाडौंको सम्पत्ति लिलाम गर्ने भएको छ। गोरखाका चिरिञ्जीवी भट्टको स्वामित्वमा रहेको होटल आर्टसले ऋण नतिरेपछि लिलामी प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ।

बैंकले भट्टको नाममा डिल्लीबजार मालपोत कार्यालयमा दर्ता भएको १५ रोपनी जग्गा र सोमा बनेको भवन लिलाम गर्न लागेको हो। यस्तै लक्ष्मी भट्टको नाममा दर्ता रहेको एक रोपनी जग्गा र सोमा बनेको भवन पनि लिलामी गर्न लागेको बैंकल जनाएको छ। बैंकले जग्गाको न्यूनतम् मूल्य ४८ करोड १७ लाख रुपैयाँ तोकेको छ।

जग्गा लिने व्यक्तिले उक्त मूल्य भन्दा बढी रकम कबोल गर्नुपर्ने बैंकले जनाएको छ।

भट्टले ओभरड्राफ्ट, कोभिड र आवधिक शीर्षकमा ऋण लिएर नतिरेको जनाएको छ। लिखित तथा मौखिक ताकेता गर्दा कर्जा चुक्ता नभएको, धितो सम्पत्ति लिलाम गर्न ३५ दिनको सूचना प्रकाशित गर्दासमेत कर्जा असुल हुन नसकेकोले बैंकको भनाइ छ। बैंकले होटलका सञ्चालक भट्टलाई १५ दिनभित्र सम्पर्क गरी सम्पूर्ण सांवा तथा कर्जा चुक्ता गर्ने अघिल्लो दिनसम्मको ब्याज र अन्य दस्तुर चुक्ता गरी धितो सम्पत्ति फुकुवा गराई लिन भनेको छ।

प्रकाशित मिति:     ४ भाद्र २०८२, बुधबार  |    Himali Khabar