काठमाडौं । वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि २ सयभन्दा बढीले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार बिहीबारसम्म २२ आरोही समूहका ३८ महिला र एकसय ७८ पुरुष गरी कूल २१४ जनाले अनुमति पाएका हुन्। आरोहण अनुमति लिएर विभिन्न मुलुकका आरोहीहरु धमाधम गन्तव्यतर्फ लागिरहेका छन्।
विभागले चैतको तेस्रो सातादेखि सगरमाथा आरोहण अनुमति दिन सुरु गरेको थियो । विभागका निर्देशक आरती न्यौपानेका अनुसार सगरमाथा आरोहणका लागि धमाधम आरोही गन्तव्यतर्फ गइरहेका छन्। नेपालसहित ३१ मुलुकका नागरिक सगरमाथा आरोहणका लागि भएका छन्। विभागले हालसम्म सगरमाथासहित विभिन्न १७ हिमाल आरोहणका लागि ‘एक्सपीडिसन पर्मिट’ जारी गरेको छ । पछिल्लो विवरणमा हिमाल आरोहणमार्फत ३६ करोड ५८ लाख १५ हजार २७ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ।
सगरमाथाबाट मात्रै ३१ लाख ६९ लाख ८६ हजार २८ रकम उठेको छ। हालसम्म विभिन्न हिमाल तथा पिक आरोहण गर्न ५४ आरोही समूहका ९९ महिला र तीनसय ९८ गरी कूल चार सय ९७ जनाले विभागबाट अनुमति लिएका छन्।
आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न भएको छ। आइसफलका डाक्टरहरुले खुम्बु आइसफल हुँदै रुट फिक्सिङ पूरा गरेको विभागले जनाएको छ। असाधारण प्रयासका लागि एसपिसिसीका आइसफल डाक्टरलाई विभागले प्रसंशा व्यक्त गरेको छ।