वायुसेवा निगमले तिर्‍यो चैत मसान्तसम्मको ५३ करोड ऋण

वायुसेवा निगमले तिर्‍यो चैत मसान्तसम्मको ५३ करोड ऋण

काठमाडौं । नेपाल वायु सेवा निगमले चैत मसान्तसम्मको किस्ता तिरेको छ । निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई बाइडबडी जहाजको ऋण तिरेको हो । निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारोबडी जहाजको ०८१ चैत महिनाको किस्ताबापत पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी ५३ करोड नौ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको हो ।

अध्यक्ष युवराज अधिकारीले निगम व्यवस्थापन सम्हालेपश्चात् ०८१ चैतसम्मको अवधिमा सात अर्ब ३९ करोड पाँच लाख आठ हजार ९५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको जनाइएको छ । साथै, विश्वव्यापी कोरोनाभाइरसको कारण व्यापारमा प्रतिकूल असर परेको भन्दै निगमले सो असर रहेको अवधिको ब्याज, ब्याजको ब्याज, हर्जाना र पेनल छुट गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति:     १ बैशाख २०८२, सोमबार  |    Himali Khabar