काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल एयरलाइन्सलाई सुचारु गर्न लिज (भाडा) मा जहाज थप्ने तयारी भइरहेको बताएका छन्। सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री पाण्डेले यो जानकारी दिएका हुन्।
नागरिक उड्डयनको क्षेत्रमा कुनै पनि बेला नतिजा आउने गरी तदारुकतासाथ काम गरिरहेको उनको दाबी छ। उनले उड्डयन क्षेत्रलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न जहाज थप्नुको विकल्प नरहेको बताए। धेरै देशबाट सिधा उडानको प्रस्ताव प्राप्त भएकोले १० वटा वाइडबडी र १० वटा न्यारोबडी थप्नुपर्ने मन्त्री पाण्डेको धारणा थियो। उनले सबैतिरबाट ध्वजावाहक जहाज नै चढ्न खोज्दा समस्या भएको जिकिर पनि गरे।
उनले भने, ‘नागरिक उडड्यनको क्षेत्रमा नेपाल एयरलाइन्सलाई सुचारु बनाउने सन्दर्भमा हामी गहन छलफलमा छौं। कुनै पनि बेला नतिजा आउने गरी हामी छलफलको तदारुकतामा छौं। अब प्लेन नथपी कुनै उपाय नै छैन। १० वटा वाइडबडी र १० वटा न्यारोबडी भइदिए मात्र सञ्चालन गर्न सजिलो हुन्छ। सबैतिरबाट सिधा उडानको लागि प्रश्ताव आएका छन्। जुनसुकै देशले पनि ध्वजावाहक नै चढ्न खोज्ने रहेछन्। नेपालीले त खोज्ने नै भयो। अरूले पनि सम्बन्धित देशमा जाँदा त्यो देशको ध्वजावाहक भयो भने ढुक्क अनुमति गर्दोरहेछ।’