पाँच महिनामा वाणिज्य बैंकहरुले कमाए ३० अर्ब २४ करोड नाफा

पाँच महिनामा वाणिज्य बैंकहरुले कमाए ३० अर्ब २४ करोड नाफा

काठमाडौं । चालू आर्थिक वर्षको पाँच महिनामा वाणिज्य बैंकहरूले कुल ३० अर्ब २४ करोड रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले मंसिर महीनासम्म उक्त नाफा कमाएका हुन् ।

अघिल्लो आवको पाँच महीनामा बैंकहरूले कुल  २८ अर्ब ३६ करोड नाफा कमाएका थिए । यो आधारमा हेर्दा यस वर्षको नाफा ६ दशमलव ६० प्रतिशत वृद्धि भएको छ । 

चालू आवको पाँच महीनामा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । यस बैंकले मंसिर मसान्तसम्ममा ३ अर्ब ४९ करोडभन्दा बढी नाफा कमाएको छ ।  यो नाफा गत आवको तुलनामा १७ दशमलव ७८ प्रतिशत बढी हो । सो अवधिमा बैंकले २ अर्ब ९६ करोड नाफा कमाएको थियो । 

चालू आवको पाँच महीनामा सर्वाधिक नाफा कमाउनेको सूचीमा दोस्रोमा ग्लोबल आइएमई बैंक छ । बैंकले मंसिर मसान्तसम्ममा २ अर्ब ८३ करोड नाफा कमाएको छ ।

सो अवधिमा २० वाणिज्य बैंकहरूमध्ये कृषि विकास बैंक ३५ करोड २४ लाखमा घाटामा छ । यस बैंकले गत आवको मंसिर मसान्तमा भने  १२ करोड ५० लाख नाफा कमाएको थियो । 

प्रकाशित मिति:     ३ माघ २०८१, बिहीबार  |    Himali Khabar