सुजिताको मोबाइल खोज्दै प्रहरी, अनुसन्धानमा अझै ‘क्लु’ भेटिएन

सुजिताको मोबाइल खोज्दै प्रहरी, अनुसन्धानमा अझै ‘क्लु’ भेटिएन

काठमाडौं । चितवनकी २३ वर्षीया सुजिता भण्डारीको हत्या वा आत्महत्या प्रहरी अनुसन्धान जारी छ । यही असार ११ गते बेपत्ता भएकी २३ वर्षीया सुजिताको शव गएको आइतबार स्थानीय ब्रह्मस्थानी सामुदायिक वनमा फेला परेको थियो ।

आफन्तले सुजिताको हत्या भएको बताइरहेका छन् । घटनाको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो, जिल्ला प्रहरी कार्यालय चितवनको टोली सक्रिय छ ।

सुजिताको शव भेटिएको स्थानबाट विषादीको बट्टा भेटिएको छ । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौं ल्याइएको छ । प्रहरीले सुजिताको मोबाइल फेला पार्न सकेको छैन ।

एक उच्च प्रहरी अधिकारीले भने, “मोबाइल भेटिएपछि थप केही कुरा खुल्न सक्छ । मोबाइल खोजिरहेका छौँ । यसबाहेक शंकास्पदमाथि निगरानी पनि सुरु गरेका छौँ ।”

प्रहरीले समेत पोस्टमार्टम रिपोर्ट कुरिरहेको छ । रिपोर्टपछि अनुसन्धानका लागि ‘क्लु’ मिल्ने अधिकारीहरु बताउँछन् । प्रहरीले अहिले नै हत्या वा आत्महत्या यकिन गर्न सकेको छैन । प्रहरी अधिकारीहरुका अनुसार विभिन्न कोणबाट सूक्ष्म अनुसन्धान भने जारी छ ।

प्रकाशित मिति:     २२ असार २०७८, मंगलवार  |    Himali Khabar