काठमाडौं । अमेरिकाको न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले ११ जना महिलामाथि यौन दुर्व्यवहार गरेको रिपोर्ट सार्वजनिक भएको छ।
डेमोक्र्याटिक पार्टीका गभर्नर कुमोले कार्यस्थलमा दुर्व्यवहार गरेको एक जना महिलाले सार्वजनिक गरेपछि अनुसन्धान थालिएको थियो। मंगलबार राज्यकी महान्यायाधीवक्ताले लेतितिया जेम्सले पाँच महिना लामो अनुसन्धानको रिपोर्ट सार्वजनिक गरेकी थिइन्। उक्त रिपोर्टमा ६३ वर्षीय कुमोले गलत नियतले महिलाहरूलाई छुने, चुम्बन गर्ने, अँगालो मार्ने र भद्दा प्रतिक्रिया दिने गरेको उल्लेख गरिएको छ।
उक्त रिपोर्ट प्रकाशित भएपछि कुनै बेलाका पार्टीका स्टार मानिएका कुमोले राजीनामा दिनु पर्ने माग डेमोक्र्याटहरूले नै गरेका छन्।