दुबईकी राजकुमारीलाई आफ्नै बाबुले बन्दी बनाएर राखेको खुलासा

दुबईकी राजकुमारीलाई आफ्नै बाबुले बन्दी बनाएर राखेको खुलासा

काठमाडौं, ६ फागुन । सन् २०१८ मा विदेश भाग्ने प्रयास गरेकी दुबईका अर्बपति शासककी छोरीको गोप्य रेकर्डिङ बाहिरिँदा व्यापक चर्चा सुरु भएको छ । सो भिडियोमा उनले आफू एक भिल्लामा जेल समान थुनिएर बस्नुपरेको र मेडिकल आवश्यकताहरुको समेत कुनै पहुँच नभएको बताएकी छन् ।

शेख लतिफा युएईका उपराष्ट्रपति एवम् दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मक्तोमकी छोरी हुन् । यसअघि, उनी २०१८ को मार्चमा सार्वजानिक रूपमा देखा परेकी थिइन् । त्यति बेला उनी पानीजहाजबाट भाग्न खोजिरहेकी थिइन् । तर, एमिरती सुरक्षा बलले त्यहाँ छापा मारी उनलाई फेरि दुबई फर्काइदिएको उनलाई भाग्नमा मद्दत गर्ने दुई व्यक्तिले बताएका थिए । त्यो यूएईबाट बाहिरिने उनको दोस्रो प्रयास थियो । त्यसअघि, उनी २००२ मा किशोरी हुँदा पनि विदेश पलायन हुने कोसिस गरेकी थिइन् । (स्रोत बीबीसी)

बीबीसी प्यारानोमाले प्राप्त गरेको केही महिनाअघिको उनको भिडियो मंगलबार राति प्रशारित ‘द मिसिङ प्रिन्सेस’ भन्ने डकुमेन्ट्रीमा देखाइएपछि नै अचानक उनी फेरि चर्चामा आएकी हुन् । जसमा राजकुमारी लतिफाले भनेकी छन्, “मलाई यहाँ बन्दी बनाएर राखिएको छ । यो भिल्ला अहिले जेलमा परिणत भएको छ । सबै झ्यालहरु बन्द गरिएको छ र म एक्लै छु । यहाँ कुनै मेकिडल मद्दत छैन । कुनै ट्रायल छैन । कुनै अभियोग छैन । केही पनि छैन ।”

उनले सो भिडियो आफ्नो मोबाइल फोनमा बाथरुमभित्रबाट गोप्य रूपमा खिचेको बीबीसीले जनाएको छ । उक्त प्रसारणका अनुसार दुबई फर्काइएको एक वर्षपछि उनी एक व्यक्तिको मद्दतले आफ्नी साथी टिना जुहेइनेनसँग सम्पर्कमा रहनसकेकी हुन् । त्यसपछि टिनाले नै लतिफालाई मोबाइल फोन दिलाएकी थिइन् । जसमार्फत उनले बाथरुमबाट गोप्य रूपमा आफ्नो जेलसमान जीवनको व्याख्या गर्दै भिडियो खिचेको बीबीसीको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति:     ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar