अमेरिकाले विभिन्न मुलुकलाई ८ करोड डोज कोरोना खोप दिने

अमेरिकाले विभिन्न मुलुकलाई ८ करोड डोज कोरोना खोप दिने

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुनको अन्तिमसम्ममा संसारका विभिन्न मुलुकलाई कोरोनाविरूद्धको ८ करोड डोज खोप दिने घोषणा गरेका छन्।

यसअघि नै अक्सफोर्ड/अष्ट्राजेनेकाले बनाएको ६ करोड खोप अरू मुलुकलाई दिने बताएको अमेरिकाका राष्ट्रपति बाइडेनले सोमबार थप दुई करोड डोज खोप पनि दिने बताएका हुन्। ‘हाम्रो मुलुक बाँकी संसारका लागि खोपको आर्सनल हुँदैछ,’ ह्वाइट हाउसमा बाइडेनले भने,‘जति चौडा सागरले पनि र जति अग्ला पर्खालले पनि हामीलाई सुरक्षित राख्न सक्दैन। अन्धाधुन्ध फैलिरहेको रोग र मृत्युले ती मुलुकलाई अस्थिर त बनाउँछ नै हामीलाई पनि खतरामा राखिरहन्छ।’

अमेरिकामा अहिलेसम्म फाइजर, मोडेर्ना र जोन्सन एन्ड जोन्सनको खोपलाई प्रयोग अनुमति दिइएको छ भने अक्सफोर्ड/अष्ट्राजेनेकाको खोपलाई अनुमति दिइएको छैन। अमेरिकाले यसअघि अक्सफोर्ड/अष्ट्राजेनेकाको ४० लाख डोज खोप मेक्सिको र क्यानडालाई दिएको थियो।

प्रकाशित मिति:     ४ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar