कोभिड संक्रमण बढेपछि पाकिस्तानले सार्वजनिक भेला र समारोहमा प्रतिबन्ध लगायो

कोभिड संक्रमण बढेपछि पाकिस्तानले सार्वजनिक भेला र समारोहमा प्रतिबन्ध लगायो

काठमाडौं, १६ चैत । पाकिस्तानमा सार्वजनिक रुपमा भेला हुन र सभा समारोहहरु गर्न नपाइने भएको छ । पाकिस्तानको सरकारले यस्ता कार्यमा आइतबारदेखि नै प्रतिबन्ध लगाएको छ । पाकिस्तानमा पनि पछिल्लो समयमा कोभिड १९ का संक्रमितहरु बढ्दोक्रममा रहेका छन् । सम्भावितः तेस्रो वेभबाट बच्नका लागि यो प्रतिबन्ध लगाइएको यहाँको सरकारले जनाएको छ ।

पाकिस्तानमा कोभिड १९ संक्रमण नियन्त्रणका क्षेत्रमा कार्यरत सरकारी संयन्त्र नेसनल कमाण्ड एण्ड अपरेसन सेन्टरले आइतबार विज्ञप्ति प्रकाशन गरेर यस विषयमा जानकारी गराएको थियो । उक्त सेन्टरले पाकिस्तानमा राजनीतिक सभा सम्मेलनहरुका साथै सांस्कृतिक र खेलकूदका लागि गरिने जमघटहरुमा पनि कडा रुपमा प्रतिबन्ध लगाएको छ ।

यो प्रतिबन्धको अवज्ञा गर्नेहरुलाई कडा कारबाही गरिने पनि सेन्टरले प्रकाशन गरेको विज्ञिप्तमा उल्लेख छ । प्रतिबन्ध देशव्यापी रुपमा लगाइएको हो । नयाँ निर्देशनपछि यहाँका प्रान्तीय सरकारहरुले पनि यसको पालना गर्नुपर्ने छ । सरकारले धार्मिक, सांस्कृतिक एवं विवाह लगायतका समारोहहरुमा पनि जमघट हुन नपाइने बताएको छ । घरबाहिर सार्वजनिक रुपमा मात्र नभएर घरभित्रै पनि ठूलो संख्यामा मानिसहरु जम्मा हुन पाइने छैन ।

देशमा कोभिडका संक्रमितहरु बढ्दै गएकाले सबै नागरिक सजग हुनुपर्ने भन्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि आइतबार सबै देशबासीहरुलाई राष्ट्रिय टेलिभिजनमार्फत् अपिल गरेका थिए। कोरोना भाइरसको तेस्रो वेभको प्रकोप बढ्दै गएकाले यसबाट बच्न सबै नागरिकले सरकारले लागू गरेका नियमहरुको पालना गर्न पनि उनले आग्रह गरे ।

अन्तर्राष्ट्रिय मिडियाको सहयोगमा तयार

प्रकाशित मिति:     १६ चैत्र २०७७, सोमबार  |    Himali Khabar