बाढीपहिरोबाट विभिन्न राजमार्गका २१ सडक प्रभावित

बाढीपहिरोबाट विभिन्न राजमार्गका २१ सडक प्रभावित

काठमाडौं । केहिदिन यताको वर्षाका कारण आएको बाढीपहिरोबाट मुलुकभरका विभिन्न राजमार्गका सडकमा क्षति पुगेको छ । विभिन्न राजमार्गका २१ सडक प्रभावित भएका छन् ।

सडक विभागका अनुसार बाढीपहिरोबाट २१ सडकमध्ये आठ ठाउँका सडक पूर्ण अवरुद्ध भएका छन् भने तीनवटा सडक भने दुईतर्फी सञ्चालनमा छन् । १० वटा सडक एकतर्फी रूपमा चलेका छन् ।

अवरुद्ध राजमार्गमा साँफेबगर–मार्तडी–कोल्टी (बाजुरा) को बार्जुगाड, बल्दे–अमकोट खण्ड र हडडे खोला, रिला, बलेना, डुम्रे–बेंशीशहर–चामे (मनाङ) को तिमाङ छहरा, सिद्धार्थ राजमार्गको पाल्पाको गौडेपुल, कालिमाटी, सिसुवा, तानसेन–रिडी–कोरला राजमार्गको पाल्ला जिल्लाको ढुंगाखानी खण्ड पूर्णरूपमा अवरुद्ध छ । यस्तै पाँचखाल–मेलम्ची–टिम्बु सडकअन्तर्गत पर्ने सिन्धुपाल्चोकको मेलम्ची बजार, खोड्पे –चैनपुरको द्रुम्रीखोला, कचाली खण्ड अवरुद्ध छ । मध्यपहाडी (पुष्पलाल) राजमार्गको बाग्लुङ–बोक्से खण्ड पनि अवरुद्ध भएको विभागले जानकारी दिएको छ । बझाङ, बाग्लुङ, सिन्धुपाल्चोक, पाल्पा, बाजुरा, मनाङ गरी ६ जिल्लाका विभिन्न सडकखण्ड पूर्ण अवरुद्ध छन् । यी सडक पुनः सञ्चालन हुन केही समय लाग्ने विभागले जनाएको छ।

प्रकाशित मिति:     ३ असार २०७८, बिहीबार  |    Himali Khabar