ह्‍वासिन सिमेन्टलाई धादिङको राष्ट्रिय वनको जग्गा २० वर्षलाई उत्खनन गर्न दिने

ह्‍वासिन सिमेन्टलाई धादिङको राष्ट्रिय वनको जग्गा २० वर्षलाई उत्खनन गर्न दिने

काठमाडौं । सरकारले ह्वासिन सिमेन्ट नारायणी प्रालिलाई चुनढुङ्गा उत्खनन गर्न धादिङस्थित राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने भएको छ । वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा मन्‍त्रिपरिषद्‍ले यस्तो निर्णय गरेको हो ।

४.९८ हेक्टर राष्ट्रिय वन क्षेत्रको जग्गा कम्पनीले प्रयोग गर्न पाउने भएको छ । २० वर्षसम्मको लागि प्रयोग गर्न स्वीकृति दिइएको हो । वनमा रहेका तीन सय १२ रुख पोलहरू हटाउन अनुमति दिने उल्लेख छ। नौ महिनामा निर्माण सम्पन्‍न गरी दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरी उद्योगको निर्माण सुरु भएको थियो ।

२०७६ साउन २६ गते संसद्को सार्वजनिक लेखा समितिले ह्वासिन सिमेन्ट नारायणी प्रालीलाई २०० रोपनी जग्गा भाडामा दिन बेनिघाट रोराङ गाउँपालिकाले गरेको सम्झौता रद्द गर्न निर्देशन दिएको थियो । गाउँपालिकाले सो जग्गा सिमेन्ट कम्पनीलाई ५० वर्षका लागि भाडामा दिने निर्णय गरेको थियो । बेनिघाट रोराङ गाउँपालिका २ ताल्तिमा निर्माणाधीन हुवाजिन सिमेन्ट उद्योगमा १४ अर्ब ४० करोड चिनियाँ लगानी छ ।

प्रकाशित मिति:     २२ जेष्ठ २०७८, शनिबार  |    Himali Khabar