काठमाडौं, २० फागुन । अर्थ मन्त्रालयले ११३ वटा स्थानीय तहमा निर्माणाधिन स्वास्थ्य सेवा केन्द्रका लागि एक अर्व आठ करोड ५३ लाख २३ हजार रुपैयाँ सशर्त अनुदानका रुपमा निकासा गर्ने निर्णय गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधिन भवनको दायित्व भुक्तानीका लागि सो रकम निकासामा स्वीकृति दिएका हुन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सो रकममा स्वीकृति दिने निर्णय भएको छ । स्थानीय तहको सबै वडाहरुमा प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसाथ दुई हजार ६२६ वटा वडामा स्वास्थ्य सेवा केन्द्र निर्माणको चरणमा छन् । अर्थमन्त्रालयका प्रवक्ता सुमन दाहालले चालु आर्थिक वर्षमा केन्द्र निर्माणका लागि चार अर्व २० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
त्यसमध्ये दुई अर्व ६९ करोड २८ लाख ५८ हजार रुपैयाँ निकासा भइसकेको छ । प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण कार्यक्रम अन्तर्गत अर्थ मन्त्रालयले ५७ अर्व ९७ करोड रुपैयाँ बरावरको स्रोत सुनिश्चित गरेको बताएको छ ।