काठमाडौं । चीनले नेपाललाई कोरोनाभाइरसविरूद्धको खोप अझै दिने बताएको छ। काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले सोमबार भिडिओ पत्रकार सम्मेलन गर्दै महामारी नियन्त्रणमा चीन सधैँ नेपालको साथमा रहेकाले आउने दिनमा नेपाललाई थप खोप दिने बताएकी हुन्।
‘अहिले नै नेपालले ४० लाख डोज खोप किनिरहेको छ। आउने दिनमा हामी अरू धेरै खोप नेपाललाई दिन्छौं,’ राजदूत यान्छीले भनिन्,‘चीनको खोप उत्पादन क्षमता दिनदिनै बढिरहेको छ। त्यहीअनुसार नेपाललाई पनि दिने खोप बढाउँछौं।’
चीनले यसअघि नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिएको थियो भने पछिल्लो समय नेपालले ४० लाख डोज चिनियाँ खोप किन्ने सम्झौता गरेको छ। उक्त सम्झौताअनुसार ८ लाख डोज खोप नेपाल आइसकेको छ।