नेपालले प्रयोग अनुमति दिएको सिनोर्फामको खोप कस्तो हो ?

नेपालले प्रयोग अनुमति दिएको सिनोर्फामको खोप कस्तो हो ?

काठमाडौं, ६ फागुन । कोभिड–१९ विरुद्धको खोप आयातका लागि बुधबार नेपाल सरकारले चीनको सिनोर्फाम नामक कम्पनीलाई अनुमति दिएको छ । सिनोर्फाम चीनको सरकारी खोप उत्पादक कम्पनी हो । यसले उत्पादन गरेको कोभिड–१९ विरुद्धको बीबीआईबीपी कोर भी नामक खोप अहिले विश्वका १० वटा मुलुकमा प्रयोग भइरहेको छ ।

यो खोप सन् २०२० को सुरुवातमा बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले विकास गरेको खोप हो । सोही खोपलाई चीन सरकारको सिनोर्फाम नामक कम्पनीले उत्पादन गरी अहिले विश्वका विभिन्न मुलुकले प्रयोग गरिरहेका छन् । बीबीआईबीपी कोर भीको पहिलो चरण परीक्षण चीनमा २०२० जनवरी पहिलो सातादेखि जुनमा गरिएको थियो । जुलाईमा यसको दोस्रो चरणको परीक्षण यूएईका विभिन्न राज्यका गरिएको थियो भने तेस्रो चरणको परीक्षण अगस्टमा मोरक्को र पेरुका नागरिकमा गरिएको थियो ।

तेस्रो चरणको परीक्षणमा यो खोपको प्रभावकारिता ७९.३४ प्रतिशत देखिएपछि सन् २०२० डिसेम्बर ३० मा चीन सरकारले बीबीआईबीपी कोर भीलाई प्रयोग अनुमति दिएको थियो । यसअघि नै सेप्टेम्बर १४ मा यूएईले यो खोपलाई आपत्कालीन प्रयोगको मान्यता दिएको थियो भने चीनका नागरिकमा नोभेम्बरको पहिलो साताबाट यो खोप दिन सुरु गरिएको थियो । नोभेम्बरदेखि नै चीनले यो खोप अन्य मुलुकहरुमा पठाउन थालिसकेको थियो ।

सिनोर्फमले उत्पादन गरेको खोप तीन हप्ताको फरकमा दुई डोज दिनुपर्ने हुन्छ । हाल बहराइन चीन र यूएईमा यो खोप प्रयोग भइरहेको छ भने कम्बोडिया, इराक, जोर्डन, पाकिस्तान, पेरु हंगेरी, इजिप्टमा आपत्कालीन प्रयोगको अनुमति पाएको छ । साबेरिया, सिसेल्समा सीमित मात्रामा प्रयोग भइरहेको छ । यही खोपलाई नेपालले १७ फेब्रुअरीमा आपत्कालीन प्रयोगको मान्यता दिएको हो । नेपाललाई सिनोर्फामले पाँच लाख डोज कोभिड–१९ विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने सहमति भएको छ । (स्रोत भ्याक्सिन ट्र्याकर र दी न्युयोर्क टाइम्स)

प्रकाशित मिति:     ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar