काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगीहरूमा इच्छाशक्ति भएमा नेपालमा अत्यावश्यक उपभोग्य वस्तुहरूको आयात नियन्त्रण गर्न सकिने बताउनुभएको छ । नेपाल चामल, तेल, दाल उद्योग संघको ४५औँ वार्षिक साधारण सभामा मन्त्री भण्डारीले निजी क्षेत्रले उत्पादन र उत्पादकत्व वृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ’चामल, तेल, दालजस्ता वस्तुहरूको नेपालमै उत्पादन गर्ने पर्याप्त सम्भावना छ। यस क्षेत्रमा उपयुक्त लगानी गरी प्याकेजिङ र ब्रान्डिङमा निजी क्षेत्रले अझ ध्यान दिनुपर्ने आवश्यकता छ। सरकार उद्योगमैत्री नीति अवलम्बन गर्दै नीतिगत सहुलियत दिन तयार छ । भारतको उदाहरण दिँदै उहाँले , नेपालभन्दा कैयौँ गुणा बढी जनसंख्या भएको भारतले आफ्ना प्रयाप्त उत्पादनहरू निर्यात गर्न सकेको छ भने, हाम्रो देशको हावापानी हेर्दा एकै दिनमा हिमाल, पहाड र तराईको अनुभव गर्न सकिन्छ। यस्तो विविध वातावरण भएको देशमा उत्पादन वृद्धि गर्नु कुनै ठूलो चुनौती होइन। त्यसैले निजी क्षेत्र उत्पादन वृद्धिको अभियानमा सक्रिय हुनुपर्छ। सरकारले नीति तथा सहुलियतका माध्यमबाट अनुकूल वातावरण बनाउने प्रतिबद्धता जनाएको छ ।’

नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष कुमोद अग्रवालको अध्यक्षतामा सम्पन्न ४५ औँ वार्षिक साधारणसभामा मन्त्री भण्डारी प्रमुख अतिथि हुनुहुनथ्यो । संघले भारतको एग्री वाच नामक कम्पनी विभिन्न देशको सरकारसँग मिलेर कृषिको तथ्यांक संकलन गर्छ । उक्त कम्पनीको प्रिजेन्टेशन गराएको थियो । उक्त कम्पनीले यथार्थपरक तथ्यांक संकलन गर्ने भएकाले नेपालमा पनि त्यस्त तथ्यांक संकलन गर्ने विधि नेपालमा ल्याउने योजना बनाएको संघको कार्यकारिणी सदस्य भिबोर अग्रवालले जानकारी दिनुभयो ।