धादिङ उद्योग वाणिज्य संघको पदाधिकारी मनोनित

धादिङ उद्योग वाणिज्य संघको पदाधिकारी मनोनित

धादिङ उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले पूर्णता पाएको छ । गत पुष २६ र २७ गते सम्पन्न संघको ११औं अधिवेशनबाट निर्वाचित सदस्यहरुबाट कार्यसमिति पदाधिकारीमा मनोनित गरेसँगै कार्यसमितिले पूर्णता पाएको हो ।

विधानमा व्यवस्था भएअनुसार वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुने र वरिष्ठ उपाध्यक्षबाहेक सबै पदाधिकारी अध्यक्षले नै मनोनित गर्ने प्रावधान छ । निर्वाचित अध्यक्षले पदाधिकारी मनोनयन गर्ने विधानमा व्यवस्था भएबमोजिम नवनिर्वाचित अध्यक्ष रामकुमार डल्लाकोटीले उपाध्यक्ष (चार), महासचिव, कोषाध्यक्ष र सचिव (तीन) मनोनित गरेका हुन्।

संघको विधान २०४८ (सातौं संशोधित समेत) को दफा २१.१ र २१.२ बमोजिम उपाध्यक्षमा गोविन्द भण्डारी (उद्योग), रमेश ढकाल (वाणिज्य), विष्णुमणि श्रेष्ठ (वस्तुगत), रेखा पण्डित अधिकारी (महिला)लाई मनोनित गरिएको छ । महासचिवमा तिलक सिंखडा, कोषाध्यक्ष तिलकप्रसाद ढुंगाना, सचिवमा राजकुमार श्रेष्ठ, रमेश विश्वकर्मा र तुलसीजंग थापालाई मनोनित गरिएको छ । संघको वरिष्ठ उपाध्यक्षमा रोहित भण्डारी यसअघि नै निर्वाचित भइसकेका छन् ।

पदाधिकारी मनोनित गरेसँगै आइतबार बसेको संघको पूर्ण बैठकले धादिङ उद्योग वाणिज्य संघको वेवसाइट निर्माण गर्ने र सदस्यहरुको विवरण डिजिटलाइज गर्ने निर्णय गरेको छ । धादिङ उद्योग वाणिज्य संघले सचिवलायबाट प्रदान गरिरहेको पान सेवा र आयकर सेवा बापतको शुल्क पाँच सय लिँदै आएकोमा घटाएर तत्काल लागु हुनेगरी ५० रुपैयाँ तोकेको छ । व्यवसायीहरुलाई सहज बनाउन शुल्क घटाइएको अध्यक्ष डल्लाकोटीले बताए ।

प्रकाशित मिति:     ९ माघ २०८१, बुधबार  |    Himali Khabar