परीक्षणको तयारीमा बर्दघाट सब–स्टेसन

परीक्षणको तयारीमा बर्दघाट सब–स्टेसन

नवलपरासी, २४ फागुन । पश्चिम नवलपरासीको सुनवल बडेरामा निर्माणाधीन न्यु बुटवल–बर्दघाट २२० केभी प्रसारण लाइन सबस्टेसनको निर्माण कार्य परीक्षणको चरणमा पुगेको छ । कोभिड–१९ का कारण लामो समय निर्माणको काम रोकिएको भए पनि पछिल्लो समय तीव्रता पाएपछि अहिले परीक्षणको चरणमा पुगेको हो ।

न्यु बुटवल–बर्दघाट प्रसारण लाइनको सबस्टेसन परियोजनाका सूचना अधिकृत अशोक पोखरेलले विद्युत् सबस्टेसनको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । सुनवल नगरपालिका–१३ स्थित सूर्यबस्तीमा करिब २० बिघा क्षेत्रफलमा न्यु बुटवल–बर्दघाट प्रसारण लाइन आयोजनाको सबस्टेसन निर्माणको काम भइरहेको छ ।

आयोजनाका इन्जिनियर आनन्द सुवेदीले अब सबस्टेसन परीक्षणको चरणमा पुगेको बताए । अहिलेसम्म सबस्टेसनमा एक दर्जनभन्दा बढी सङ्ख्यामा रहेका विद्युत् टावर, कन्ट्रोल रुम, यन्त्रको जडान, क्वार्टर, स्टोर, सुरक्षा पोस्ट एवं आवास, ट्रान्सफार्मर स्टेसनलगायतका अधिकांश संरचना बनाउने काम सकिएको छ । सबस्टेसन निर्माणको काम भारतीय ठेकेदार कम्पनी टाटा प्रोजेक्ट्स लिमिटेडले लिएको छ । एक अर्ब ८० लाख रुपियाँको लागतमा बन्न लागेको विद्युत् सबस्टेसनले कालीगण्डकी क्षेत्रबाट उत्पादित विद्युत् मध्यतराईका सहरमा प्रसारण गर्नेछ ।

प्रकाशित मिति:     २४ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar