तनहुँ जलविद्युत आयोजनका मदजूर आन्दोलित

तनहुँ जलविद्युत आयोजनका मदजूर आन्दोलित

दमौली, १७ फागुन । १४० मेगावाट विद्युत् उत्पादन गर्न लागेको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज २ को ठेकेदार कम्पनी सिनो हाइड्रो कर्पोरेशनका व्यवस्थापक र कार्यरत मजदूरबीच तनाब भएको छ । शुक्रबार राति विद्युत् गृहमा अपरेटर पुष्कर थापाले स्काभेटर सफा गर्ने क्रममा पानी उछिटिन गई एक चीनियाँ व्यक्ति भिजेपछि त्यसको प्रतिशोधमा चीनियाँ व्यक्तिले ढुङ्गा प्रहार गर्दा स्काभेटरको सिसा फुटेपछि कर्पोरेशनका व्यवस्थापक र मजदूरबीच तनाब उत्पन्‍न भएको हो ।

सोही विषयलाई लिएर मजदूरले विगत लामो समयदेखि आयोजनासँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै करिब ४ सय मजदूर आन्दोलनमा उत्रिएका छन् । आयोजनामा काम गर्दै आएका मजदूरले शनिबारदेखि निर्माण कार्यमा सहभागी नभएको सिनोहाइड्रो मजदूर युनियनका अध्यक्ष आशिष श्रेष्ठले बताए । दुवै पक्षबीच खतरा हुने देखिएकाले समस्या समाधान नहुँदासम्म काम रोकेर छलफलका माध्यमबाट सहजीकरण गर्न लागिएको बताइएको छ ।

वर्षमा १० प्रतिशतका दरले तलब वृद्धि गर्ने, सञ्चय कोषको व्यवस्था, जोखिम बहन अनुमति बहनलगायत माग राख्दै आएकामा सम्बोधन हुन नसकेको सरोकार समितिका सचिव कुशबहादुर थापाले जानकारी दिए । हाल निर्माण कार्य बन्द गरी आन्दोलनमा रहे पनि वार्ताको माध्यमबाट विवाद टुङ्ग्याउने गरी टोली गठन गरेर छलफल भइरहेको आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटाले बताए ।

प्रकाशित मिति:     १७ फाल्गुन २०७७, सोमबार  |    Himali Khabar