सबै गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन

सबै गाउँपालिकामा केन्द्रीय प्रसारण लाइन

पाँचथर, १६ फागुन । । जिल्लाका सातवटै गाउँपालिकामा विद्युत्को केन्द्रीय प्रसारण लाइन विस्तार भएको छ । केन्द्रीय प्रसारणलाइन विस्तार हुन बाँकी रहेका याङवरक र फालेलुङ गाउँपालिकामा लाइन विस्तार गरी चार्ज गर्ने तयारी गरिएसँगै जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेको हो । दुवै गाउँपालिकाका मुख्य स्थानमा केन्द्रीय प्रसारण लाइन जोडिएपछि केही सातामै घरघरमा विद्युत् विस्तार हुने नेपाल विद्युत् प्राधिकरण फिदिम वितरण केन्द्रका प्रमुख साजन महर्जनले जानकारी दिए ।

नेपाल विद्युत् प्राधिकरण फिदिम वितरण केन्द्रले याङ्वरक गाउँपालिकाका वडा नं १, २ र ३ मा विद्युत् लाइन विस्तार गरी सोमबारसम्ममा लाइन चार्ज गर्न लागेको छ । यहाँ विस्तार गरिएको विद्युत् प्रसारण लाइनले जिल्लाको सुदूर उत्तरी क्षेत्र च्याङ्थापु र फलैँचाका विभिन्न बस्तीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् पुर्याउने छ । यस्तै आगामी साता फालेलुङमा लाइन चार्ज गर्ने तयारी भइरहेको केन्द्रका प्रमुख महर्जनले बताए ।

प्रकाशित मिति:     १६ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar