त्रिशुली । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत नुवाकोटमा निर्माणाधीन तादीखोला जलविद्युत् आयोजनाका कारण समस्यामा परेका स्थानीय बासिन्दाले एक लाख ६० हजार कित्ता सेयर पाउने भएका छन् ।
कम्पनीले नुवाकोटवासीका लागि गत साउन ३२ गतेदेखि आइपिओ निष्कासन गरेकामा प्रत्यक्ष असर व्यहोर्नुपर्ने स्थानीयवासीले विशेष कोटा निर्धारणको माग गर्दै दिएका दबाब र सङ्घर्षपश्चात् कम्पनी सेयर उपलब्ध गराउन शुक्रबार सहमत भएको हो । दुप्चेश्वर, तादी र पञ्चकन्या गाउँपालिकाका बासिन्दाले एक लाख ६० हजार कित्ता शेयर पाउने भएपछि विरोधका कार्यक्रम स्थगित गरेका छन् ।
चार दशमलव नौ मेगावाट क्षमताको परियोजनाबाट दुप्चेश्वर–५ र ६ वडा, तादी– ४ र पञ्चकन्या– ४ का जनतालाई असर पर्ने देखिएको छ । ती गाउँपालिकाका जनप्रतिनिधि, असर पुग्ने बासिन्दा र परियोजना पदाधिकारी सम्मिलित बैठकमा कम्पनीका अध्यक्ष पूर्णलाल श्रेष्ठले प्रमोटर सेयरका रुपमा प्रतिकित्ता रु १०० का दरले एक लाख ६० हजार कित्ता सेयर दिन लिखित सहमति जनाएको छ।
समितिले अति असर पर्ने दुप्चेश्वर–५ र ६ तादी–४ र पञ्चकन्या–४ का बासिन्दाका लागि ६० प्रतिशत र तीन पालिकाको बाँकी १४ वटा वडाको बासिन्दाका लागि ४० प्रतिशतका दरले शेयर वितरण सुनिश्चित गर्ने गरेर कार्य अघि बढाएको छ ।