विदेशी पर्यटकलाई अनिवार्य क्वारेन्टिनको व्यवस्था हटाउनुपर्ने व्यवसायीको माग

विदेशी पर्यटकलाई अनिवार्य क्वारेन्टिनको व्यवस्था हटाउनुपर्ने व्यवसायीको माग

काठमाडौं, १० फागुन । कोभिड प्रभावित मुलुकको पर्यटन क्षेत्र पुनरुत्थानका लागि सम्बद्ध पर्यटन व्यवसायीले विभिन्न दशबुँदे माग राखेका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल संघ नेपाल (हान), नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), टुरिष्ट गाइड एशोसिएशन अफ नेपाल (टुर्गान), पाटा नेपाल, नेपाल पर्वतारोहण संघ (एनएनएम) लगायत ३७ वटा पर्यटकीय संघसंस्थाले सोमवार राजधानीमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरी पर्यटन क्षेत्र पुनरुत्थानका लागि विभिन्न १० बुँदे माग राखेका हुन् ।

व्यवसायीले नेपाल घुम्न आउने विदेशी पर्यटकले अनिवार्य क्वारेन्टिन बस्नुपर्ने व्यवस्था हटाउनुपर्नेमा जोड दिएका छन् । ७२ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट लिएर नेपाल आउने विदेशी पर्यटकलाई ५ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान हटाउन उनीहरूले सरकारलाई आग्रह गरेका छन् ।

यस्तै उनीहरूले त्रिभुवन विमानस्थलमा कोभिड जाँच मेशिन राख्नुपर्ने वा तोकिएको स्वास्थ्य निकायबाट नमूना संकलन गर्ने, हालसम्म खुल्न बाँकी रहेका अन्तरराष्ट्रिय हवाई उडानहरू यथाशीघ्र खोल्नुपर्ने, कोरोनाको भ्याक्सिन अग्रंपक्तिमा रहेर काम गर्ने पर्यटन व्यवसायी र पर्यटन श्रमिकलाई उपलब्ध गराउनुपर्ने, नेपाल र चीनबीचको सिमानाका खोल्नुपर्ने, कोरोना विरुद्धको भ्याक्सिन पूरा मात्रामा लगाएर आएका पर्यटकलाई निर्बाध घुम्न दिनुपर्ने माग गरेका छन् ।

स्वास्थ्य प्रोटोकलको नाममा सरकारकाले ५ दिन अनिर्वाय क्वारेन्टिन बस्नुपर्ने व्यवस्थाले पर्यटक आगमन प्रभावित बनेको व्यवसायीको निचोड छ । स्वास्थ्य प्रोटोकलमा ध्यान दिन तयार रहेको भन्दै त्यो मापदण्ड हटाउन पत्रकार सम्मेलनका संयोजक एवं टानका अध्यक्ष खुमबहादुर सुवेदीले आग्रह गरे । सरकारले कोरोना प्रभावित व्यवसायलाई पुनरुत्थान गर्न चाहेको हो भने व्यवसायीको यो मागलाई तत्काल सम्बोधन गर्न उनले आग्रह गरे ।

सरकारले यी मागलाई बेवास्ता गरे कडा आन्दोलनमा उत्रने चेतावनी समेत व्यवसायीको छ ।

प्रकाशित मिति:     १० फाल्गुन २०७७, सोमबार  |    Himali Khabar