शेयर बजार पूँजीकरण ३६ खर्ब ३३ अर्ब पुग्यो

शेयर बजार पूँजीकरण ३६ खर्ब ३३ अर्ब पुग्यो

काठमाडौं, ८ फागुन । फागुनको पहिलो कारोबार साता सूचीकृत कम्पनीहरुको शेयरको मूल्य (कुल बजार पूँजीकरण) २ खर्ब २७ अर्ब ४ करोड २० लाख रुपैयाँ बढेको छ । साताको अन्तिम दिन फागुन ६ गते बजार बन्द हुँदा शेयर बजारको कुल बजार पूँजीकरण ३६ खर्ब ३३ अर्ब २१ करोड ७० लाख ६६ हजार रुपैयाँ कायम भएको छ ।

गत साताको अन्तिम कारोबार दिन माघ २९ गतेसम्म यो रकम ३४ खर्ब ६ अर्ब १७ करोड ४० लाख ९३ हजार रुपैयाँ थियो ।

यो साता शेयर कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि सातामा १०९.७६ अंक बढेर २६३६.६८ विन्दुमा पुगेको छ । यसै साता बजारले २६०० विन्दु पार गरेको हो । गत साताको अन्तिम कारोबार दिन बजार २ हजार ५२६ दशमलव ९२ विन्दुमा बन्द भएको थियो ।

बजारको समग्र कारोबारको अवस्था हेर्दा सबै परिसूचक सकारात्मक देखिएका छन् । यो साता कारोबार रकम बाहेक सबै परिसूचक गत साताको भन्दा बढेको छ ।

प्रकाशित मिति:     ८ फाल्गुन २०७७, शनिबार  |    Himali Khabar