काठमाडौं । नेपाल धितोपत्र बोर्डले बस्तु विनिमय बजार (कमोडिटी एक्सचेञ्ज)का लागि दरखास्त आह्वानको तयारी गरेको छ । बोर्डले असार १५ मा कमोडिटी बजारका लागि नीतिगत प्रक्रियागत व्यवस्था सम्बन्धी निर्देशिका कार्यान्वयनमा ल्याएसँगै बोर्ड कमोडिटी एक्सचेञ्जको लाइसेन्सको लागि दरखास्त आह्वान गर्ने तयारी अगाडि बढाएको हो ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गाना असार मासन्तमै नभए साउन भित्र कमोडिटी एक्चेञ्जको लाइसन्सका लागि दरखास्त आह्वान गर्ने गरी प्रक्रिया अगाडि बढेको बताउँछन् । २०७४ मा नै संसदबाट बस्तु विनिमय बजार सम्बन्धी ऐन पारित भए पनि अहिलेसम्म बस्तु विनिमय बजार नियमनको दायरामा आउन सकेको थियो ।
नेपालमा विगतदेखि नै बस्तु विनिमय बजार सञ्चालन भए पनि नियमनको दायरामा आउन सकेको थिएन । २०७४ मा ऐन आएसँगै अब बस्तु विनिमय बजार नियमनमा आउने अपेक्षा भए पनि ऐन आएको ४ वर्ष पूरा हुनै लाग्दा पनि बोर्डले बस्तु विनियमय बजार सञ्चालकको लाइसेन्स दिन सकेको छैन ।