ग्लोबल आइएमई बैंकले करिब एक अर्ब पर्ने जग्गा बिक्री गर्दै

ग्लोबल आइएमई बैंकले करिब एक अर्ब पर्ने जग्गा बिक्री गर्दै

काठमाडौं, ६ फागुन । ग्लोबल आइएमई बैंकले काठमाडौंको पानीपोखरी र अनामनगरको करिब १ अर्ब रुपैयाँ मूल्यको जग्गा विक्री गर्नका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकको अनामनगरमा ३ रोपनी र पानीपोखरीमा २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा रहेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३२ स्थित सिंहदरबारको पूर्वीगेट नजिकै अनामनगरको मूलबाटोसँग जोडिएको कित्ता नम्बर २८,२९,१३, ४२ र ४३ का जग्गाहरु बिक्रि गर्न लागेको हो । यी कित्ताको क्षेत्रफल क्रमश २५४।५०, २५४।५०, ५२५।२४, ३०२।०६, र १९०।७८ वर्गमिटर गरी कुल १५२७।०८ वर्गमिटर रहेको बैंकले जनाएको छ । यो क्षेत्रफल रोपनीको हिसाबले ३ रोपनी हो ।

त्यस्तै बैंकले काठमाडौँ महानगरपालिका वडा नम्बर ३ स्थित पानीपोखरीको मूलबाटोसँग जोडिएको कित्ता नम्बर १२१, १२२, १२३, १३३, १३४, १३५, र १३६ का जग्गाहरु बिक्रि गर्न लागेको हो । यी कित्ताको क्षेत्रफल क्रमश ५५।६३, ५९।९०, १०१।३७, ८।२०, २३८।४७, २३८।४७, र ५२७।६६ वर्गमिटर गरी कुल १२ सय २९ दशमलव ७० वर्गमिटर रहेको बैंकले जनाएको छ । यो क्षेत्रफल रोपनीको हिसाबले २ रोपनी, ६ आना, २ पैसा, ३ दाम हो ।

बैंकले कुल ५ रोपनी ६ आना, २ पैसा, ३ दाम बराबरको जग्गा बिक्रि गर्न लागेको हो । इच्छुक खरिदकर्ताले यी जग्गा अवलोकन गर्न चाहेमा बैंकको सामान्य सेवा विभाग, कमलादीमा सम्पर्क गर्न आग्रह गरेको छ । बैंकले इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संघ संस्थालाई फागुन २० गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति:     ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar