मध्यतमोर जलविद्युत आयोजनाको ४९ प्रतिशत काम सकियो

मध्यतमोर जलविद्युत आयोजनाको ४९ प्रतिशत काम सकियो

काठमाडौं, ६ फागुन । ताप्लेजुङको तमोर नदीमा निर्माणाधीन ७३ मेगावाटको मध्यतमोर जलविद्युत आयोजनाको ४९ प्रतिशत पूरा भएको छ । निर्माणको काम सानिमा हाइड्रो समूहले गरिरहेको छ ।

अहिले बाँध, सुरुङ र विद्युतगृहमा धमाधम काम भइरहेको आयोजनाका संयोजक मणिराज पोखरेलले बताए । उनका अनुसार बाँध क्षेत्रमा संरचना निर्माणको काम करिब ७० प्रतिशत पूरा भइसकेको छ । यस्तै, आयोजनाको ३.४ किलोमिटर लामो मुख्य सुरुङ पनि २ किलोमिटरभन्दा बढी खनेर सकिएको छ । विद्युतगृह निर्माणका लागि जग खन्न सुरु गरिएको उनले जानकारी दिए । आयोजनाको सिभिल संरचना निर्माणको काम चिनको चच्याङ फष्ट हाइड्रो कम्पनीले गरिरहेको छ । हाइड्रोमेकानिकलतर्फको नेपालकै माछापुच्छ्रे मेटल कम्पनी र इलेक्ट्रोमेकानिकलतर्फको काम चिनको इलेक्ट्रो सिडब्ल्यूटिडब्ल्यूले गर्दैछन् ।

यो आयोजनाबाट २०७९ पुसदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । २ वर्षमा आधा काम सकिएकाले बाँकी समयमा निर्माण पूरा गरेर राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सकिने छ । आयोजना सम्पन्न गर्न करिब १३ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ ।

प्रकाशित मिति:     ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar