उत्तरी नाकामा फेरि समस्या

उत्तरी नाकामा फेरि समस्या

काठमाडौं, ६ फागुन । नेपाल र चीनबीचको सम्झौताअनुसार ६ नाका सञ्चालनमा आउनुपर्ने हो। तर, जसोतसो सञ्चालित दुई नाका (तातोपानी र रसुवागढी) पनि खुल्दै, बन्द हुँदै गर्छन्। पछिल्लो पालि बल्ल खुलेका यी नाका फेरि केही दिनका लागि भन्दै बन्द भएका छन्।

दुई मुलुकबीच सन् २०१६ मा पारवहन ढुवानी सम्झौता भएको थियो। त्यसलाई कार्यान्वयन गर्न सन् २०१९ अप्रिल २९ मा नेपाल–चीन पारवहन ढुवानी प्रोटोकल भयो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखाका सहसचिव प्रकाश दाहालले उक्त सम्झौताअनुसार ६ नाकामार्फत नेपालले चीनसँग आयातनिर्यात कारोबार गर्न पाउने सुविधा प्राप्त गरेको बताए। तर, सिन्धुपाल्चोकस्थित तातोपानी (कोदारी)–जाङमु र रसुवास्थित केरुङ–रसुवागढीमार्फत मात्र व्यापारिक कारोबार गरिँदै आएको छ।

यी नाकाबाट नेपालले चाहेअनुसार पर्याप्त मात्रामा द्विपक्षीय कारोबार भने हुन सकेको छैन।विभिन्न बहानामा अवरुद्ध हुँदै आएका तातोपानी र रसुवागढी नाका पुनः ठप्प भएका छन्। दुवै नाकामा कार्यरत चिनियाँ भन्सार कर्मचारी, यार्डमा कार्यरत कामदार र क्लियरेन्स एजेन्ट चीनको नयाँ वर्ष मनाउन भन्दै १० बिदा बसेका छन्। चीन सरकारले नयाँ वर्षका अवसरमा एक साता बिदा दिएको छ।

प्रकाशित मिति:     ६ फाल्गुन २०७७, बिहीबार  |    Himali Khabar