काठमाडौं । पुनःनिर्माणपश्चात् धरहरा सशुल्क सञ्चालन भएको आज मंगलबार एक महिना पुगेको छ । यस अवधिमा प्रवेश शुल्कबापत ५५ लाख रुपैयाँ संकलन भएको छ । गत मंसिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो सोमबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम संकलन भएको हो ।
कामु आयोजना निर्देशक प्रकाश अर्यालले प्रत्येक बुधबार धरहरा बन्द हुने र अन्य दिन दैनिक एक हजार दुई सयले धरहरा चढ्ने गरेको जानकारी दिए । ९ गतेदेखि हालसम्म ३१ हजारभन्दा बढी नागरिकले धरहरा चढिसकेका छन् । जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्यांक राख्ने गरिएको छैन । बिहान साँढे १० देखि ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ । छोटो समयमा नागरिकको उल्लेख्य उपस्थिति देखिएको छ।
पछिल्लो समय छिमेकीमुलुकका पर्यटक पनि धरहरा अवलोकन गर्न आउने गरेका छन् ।
धरहरा चढ्न प्रतिव्यक्ति दुई सय शुल्क तोकिएको छ । विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपांगता भएका व्यक्तिले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ ।