नेपालमै पहिलो आरोह फर्टिलाइजर्सको जैविक मल बजारमा

नेपालमै पहिलो आरोह फर्टिलाइजर्सको जैविक मल बजारमा

काठमाडौं । आरोह फर्टिलाइजर्सले उत्पादन गरेको विभिन्न प्रकारका जैविक मलहरू बजारमा आएको छ । कम्पनीले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल बजारमा ल्याएको जानकारी दिएको हो । कम्पनीले उत्पादन गरेको जैविक मल नेपालमै पहिलो रहेको दाबी गरिएको छ ।

माटोमा जथाभावी रासायनिक मल र कीटनाशकको प्रयोगलाई कम गर्न जैविक तथा अर्गानिक मल ल्याएको छ । यो मल कृषि उत्पादनमा बढी उपयोगी हुनुका साथै उत्पादनमा वृद्धि तथा वातावरणमैत्री रहेको पनि कम्पनीले जनाएको छ । यो मलको फ्याक्ट्री धनुषा जिल्लाको धनुषधाम नगरपालिका–३, तेजनगरमा रहेको छ ।

आरोह फर्टिलाइजर्सले आरोह जैविक तरल मल, आरोह जैविक दानेदार र पाउडर मल र आरोह जैविक कीटनाशक गरी तीन प्रकारका मलहरू उत्पादन गर्दै आएको छ । जसमा आरोह जैविक तरल मलमा ६, ओह जैविक दानेदार र पाउडर मलमा चार र आरोह जैविक कीटनाशकमा दुई थरीका मल उत्पादन गर्दै आएको अध्यक्ष शैलेन्द्र एसजेभि राणाले जानकारी दिनुभयो ।

रासायनिक मलको जथाभावी प्रयोगले गर्दा जमिनको माटोको उत्पादन क्षमता घट्दै गई मानव स्वास्थ्यमा प्रतिकूल असर गरिरहेको अवस्थामा किसानका लागि यो मल उपयोगी हुने विश्वास लिइएको छ ।

प्रकाशित मिति:     १५ असार २०८१, शुक्रबार  |    Himali Khabar