सुसंस्कृत राजनीतिको अधुरो सपना पुरा गरेरै छाड्छाैँ उज्ज्वल दाइ :- रामहरि अधिकारी

सुसंस्कृत राजनीतिको अधुरो सपना पुरा गरेरै छाड्छाैँ उज्ज्वल दाइ :- रामहरि अधिकारी

मेरो पुस्ताको हरेक व्यक्ति प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पुरानो राजनीतिक मायाजालबाट टाढिन सक्दैनथ्याे किनभने पञ्चायती व्यवस्थाकाे अन्त्यसँगै उदाएको बहुदलीय व्यवस्थाले समाजका हरेक तह र तप्कालाई राजनीतिक रूपले यसरी च्यापेकाे थियो कि हरेक पारिवारिक र सामाजिक व्यवहार स्वतन्त्र व्यक्ति भएर गर्न असम्भव बनाइसकेकाे थियोे। म पनि कुनै समय पुरानै राजनीतिक विश्वाससँग आबद्ध थिएँ । यद्यपि खुला रूपमा वैकल्पिक शक्तिकाे बहस हुनुभन्दा अगाडि नै पुराना राजनीतिक संस्कार र संरचनाबाट समाज र देशको मुहार फेर्न असम्भव छ भन्ने निष्कर्ष निकाल्दै व्यक्तिगत रूपले म उद्यमि बन्दै समाजसेवालाई पनि सँगसँगै अगाडि बढाउने निष्कर्ष सहित पुरानो राजनीतिक संस्कार र संरचनाबाट निष्क्रिय भइसकेको थिएँ ।

सकभर जिम्मेवारी लिन नहतारिने तर जिम्मेवारी लिइसकेपछि महशुस हुनेगरी परिणाम दिएरै छाड्नुपर्छ र त्यसका लागि कुरा कम, काम बढी गर्नुपर्छ भन्ने उदाहरण मेरो बुद्धि र बर्कतले भ्याएसम्म रारा समाजमा पेस गरिसकेको थिएँ । स्वतन्त्र बसेर पनि समाजमा याेगदान गर्न सकिन्छ भन्ने विश्वास म मा झाङ्गिदै थियो। उतातिर देश स्थानीय निर्वाचन सकेर संघीय निर्वाचनमा हाेमिएकाे थियोे। स्थानीय निर्वाचनमा तत्कालीन विवेकशील नेपाली दलले युवालाई मेयरमा उठाएर र तत्कालीन साझा पार्टीले किशोर थापा जस्तो अनुभव, सक्षम र इमानकाे प्रतिमुर्तिलाई मेयरमा उठाएर वैकल्पिक राजनीतिको विश्वासमा विजाराेपण गराइसकेको थियो। स्थानीय चुनावपछि दुबै दलबीच एकता पनि भइसकेको थियो। चुनावी माहोल प्रदेश र संघीय चुनावमा केन्द्रित थियोे । शुभेच्छुक र साथीभाइहरूकाे सल्लाहमा एकचोटि विवेकशील साझापार्टीकाे चप्पल कारखानामा गएर हाम्रो पनि नैतिक समर्थन जनाउने भन्ने निष्कर्ष सहित म केही साथीहरू सहित चप्पल कारखाना गएको थिएँ । उज्ज्वल दाईसँग साेहि दिन मेरो परिचय भयाे । केही दिनको औपचारिक र अनाैपचारिक कुराकानी हुँदाहुँदै उहाँले मलाई एकाविहानै विहानै फाेन गरेर भन्नुभयो रामहरि जी, मैले चुनाव उठ्ने निर्णय गरिसकेँ थाहापाइहाल्नु भाे तपाईंसँगकाे अनुभव र क्षमता एकपटक युवापुस्ताकाे लागि, सुसंस्कृत राजनीतिकाे लागि, विकास र समृद्धिका लागि चाहियाे तपाईं पनि चुनावमा उठेर मेरो पार्टनर बन्नपर्याे । मनमनै दङ्ग परेँ कस्तो पार्टी हाेला ? टिकटमा हानाथाप परेकाे देखेकाे र सुनेकाे मलाई पार्टी अध्यक्षले फाेन गरेर चुनावमा उठ्दिनुपर्याे भन्छन् तर मैले तत्कालै उत्तर चाँहि दिइहालेँ एक चरणकाे सरसल्लाह गरेर खबर गर्छु भनेँ र फाेन राखेँ ।

परिवार, छरछिमेक, समाज र चिनेजानेका साथीहरूसँगकाे छलफलपछि युवापुस्ता, सुसंस्कृत राजनीति, विकास र समृद्धिका लागि एकपटक नालीमै हाम फालेर नाली सफा गर्ने निष्कर्ष निकालेँ र उज्ज्वल दाईलाई फाेन हानेँ । तपाईंको प्रस्तावमा म सकरात्मक छु। उहाँले प्रश्न गर्नुभयो सकरात्मक मात्रै कि उठ्ने नै ….? मैले भनेँ उठ्ने नै । उहाँले भन्नुभयो ल भाेट माग्न थाल्नाेस, अफिस पनि आउनु टिम बनाएर घरदैलो जानुपर्छ अब । प्रक्रिया अगाडि बढ्याे । घरदैलोमा उज्ज्वल दाइसँग कति हिँडियाे हिँडियाे । सधैं भन्नुहुन्थ्यो “चुनावलाई प्रेसरमा नलिनु, टेक इट एज अ फन, इट इज अ काइण्ड अफ जाेय “मत जित्नेगरि आउला नआउला फरक कुरा पहिला जनताको मनमा बस्नुपर्छ रामहरि जी । थकित भएको बेला उहाँका यी दुई वाक्यले थप उर्जा भरिन्थ्याे ।

उहाँसँगकाे अविस्मरणीय भलाकुसारीका पाटाहरू आगामी दिनमा खाेल्दै जाऔला नै। यतिबेला मन भारी भएको छ । समाचारहरू सत्य नभईदिए पनि हुने नि जस्तो लाग्छ । मन मष्तिस्कले अझै पत्याएकाे छैन । तर वास्तविकता भाैतिक शरीर छाडेको आज १५ दिन भइसक्यो । भाैतिक रूपले उज्ज्वल दाइ हामी माझ हुनुहुन्न र कहिल्यै आउनुहुन्न अब । उहाँ प्रतिकाे काठमाडौं क्षेत्र ५ का सम्पूर्ण आमाबाबु, दाजुभाइ तथा दिदिबहिनीहरूकाे अपार माया, साथ, सहयोग र सदभावप्रति म तत्कालीन प्रदेश सभा उम्मेदवारकाे हैसियतले स-धन्यवाद ज्ञापन गर्दछु । तपाईं हामी सबै मिलेर उहाँको सुसंस्कृत राजनीतिकाे स्वर्णिम सपना पूरा गरेरै छाड्ने हाे ।

अन्तमा, म फेरिपनि काठमाडौं क्षेत्र ५ का सम्पूर्ण आमाबाबु, दाजुभाइ तथा दिदिबहिनीहरूलाई भन्न चाहान्छु, वैकल्पिक राजनीतिप्रतिकाे विश्वासमा धेर्य गर्नाेस् सुसंस्कृत राजनीतिलाई मुलधारकाे राजनीतिमा स्थापित गराएरै छाड्छाैँ । परिवर्तन गरेरै छाड्ने हाे, समृद्धि हेरेरै मर्ने हाे । परिवर्तन हाम्रै जीवनकालमा ।

रामहरि अधिकारी
काठमाडौं क्षेत्र नं ५ “क” तत्कालीन प्रदेशसभा उम्मेदवार, विवेकशील साझा पार्टी

प्रकाशित मिति:     ३ असार २०७८, बिहीबार  |    Himali Khabar