सिभिल सहकारीमा ठगी : ११ सयभन्दा बढी उजुरी, ४ अर्बभन्दा बढीको बिगो दाबी

सिभिल सहकारीमा ठगी : ११ सयभन्दा बढी उजुरी, ४ अर्बभन्दा बढीको बिगो दाबी

काठमाडौं । सिभिल बैंक सञ्चालक समितिका अध्यक्ष तथा पूर्व सांसद इच्छाराज तामाङविरुद्ध ११ सयभन्दा बढी उजुरी प्रहरीमा दर्ता भएको छ । उनी यति बेला प्रहरी हिरासतमा छन् ।

यस ठगी प्रकरणमा उनीमाथि साढे ४ अर्बभन्दा बढीको बिगो दाबी पुगेको छ ।
सिभिल सेभिङ्स एन्ड क्रेडिट कोअपरेटिभ्समार्फत बचतकर्ताको रकम फिर्ता नगरेको आरोपमा प्रहरीले गत असोज १८ मा उनलाई पक्रिएको थियो । तामाङ उक्त सहकारीका सल्लाहकार एवं पूर्वअध्यक्ष हुन् ।

उनी आबद्ध सहकारीले २ हजारभन्दा बढी बचतकर्ताको करिब साढे ७ अर्ब रुपैयाँ फिर्ता नगरेको उजुरीका आधारमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तामाङलाई पक्राउ गरेको हो । सहकारीले दुई वर्ष (२०७६ वैशाख) देखि बचतकर्ताको रकम फिर्ता नगरेको सहकारी पीडित संघर्ष समितिका संयोजक उज्ज्वल सत्यालले बताए ।

बिहीबारसम्म १ हजार १ सय १० उजुरी परिसकेको सीआईबीका प्रवक्ता एसपी श्याम महतोले जानकारी दिए । ती उजुरीअन्तर्गत मात्र पनि सहकारीको ४ अर्ब ५७ करोड ९३ लाख ८९ हजार ७ सय १८ रुपैयाँ बिगो दाबी पुगेको उनले बताए ।

प्रकाशित मिति:     ६ कार्तिक २०७८, शनिबार  |    Himali Khabar