सवारी चालक अनुमतिपत्रको परीक्षा खुकुलो बनाइयो

सवारी चालक अनुमतिपत्रको परीक्षा खुकुलो बनाइयो

काठमाडौं । सवारी चालक अनुमतिपत्रका लागि लिइने परीक्षामा सहभागीमध्ये एक तिहाईभन्दा कम मात्रै पास हुने गरेकामा कम्तीमा आधा पास हुने गरी परीक्षा खुकुलो बनाइएको छ । यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्षालाई खुकुलो बनाएर पास हुने दर बढाउन लागिएको हो ।

परीक्षा प्रणाली कडा हुँदा धेरै सहभागी अनुत्तीर्ण भएपछि यसलाई खुकुलो बनाइएको हो । सवारी चालक अनुमतिपत्र परीक्षाको लिखित र प्रयोगात्मक दुबै परिवर्तन गरिएको विभागका प्रवक्ता डा लोकनाथ भुषालले जानकारी दिए ।
लिखित परीक्षाका लागि विभागको वेवसाइटमा प्रश्न राखिएको छ । वेवसाइटमा राखिएका पाँच सय प्रश्न भित्रबाट यातायात व्यवस्था कार्यालयले २५ प्रश्न निकाल्ने प्रवक्ता डा भुषालले बताए । कुन खण्डबाट कति प्रश्न सोधिन्छ भन्ने मापदण्डमा नै उल्लेख गरिएको छ ।

कार्यालयले त्यसैका आधारमा प्रश्न छापेर परीक्षा सञ्चालन गर्ने छ । नयाँ मापदण्डानुसार परीक्षामा पास हुनका लागि चाहिने नम्बर पहिलेभन्दा लिखित परीक्षाका लागि बढाइएको छ भने प्रयोगात्मक परीक्षाका लागि कम गरिएको छ । पहिले प्रयोगात्मक परीक्षामा सहभागीले शतप्रतिशत अङ्क ल्याउनुपर्नेमा अहिले ७० ल्याए पुग्छ भने लिखित परीक्षामा पहिले ५० प्रतिशत उत्तीर्ण अङ्क थियो भने अहिले त्यसलाई बढाएर ६० बनाइएको छ । परीक्षार्थीलाई सजिलो बनाउनका लागि प्रयोगात्मक परीक्षामा पास गर्न चाहिने नम्बर कम गरिएको हो ।

प्रकाशित मिति:     २ भाद्र २०७८, बुधबार  |    Himali Khabar