निषेधाज्ञाले नेपालमा रोकिएका पर्यटकलाई असार मसान्तसम्म प्रवेशाज्ञा शुल्कमा छुट

निषेधाज्ञाले नेपालमा रोकिएका पर्यटकलाई असार मसान्तसम्म प्रवेशाज्ञा शुल्कमा छुट

काठमाडौं । कोरोना महामारीका कारण नेपालमा रोकिएका विदेशी पर्यटकलाई यही असार मसान्तसम्म प्रवेशाज्ञा शूल्क तथा जरिवानामा छुट दिइएको छ। दोस्रो लहरको कोरोना संक्रमणलाई ध्यानमा राख्दै जारी अधिकांश जिल्लामा निषेधाज्ञा लागू हुँदा र नियमितरुपमा हुँदै आएको अन्तर्राष्ट्रिय उडान बन्द हुँदा नेपालमा रोकिएका विदेशी पर्यटकलाई प्रवेशाज्ञा शूल्कमा छुट दिइएको हो।

अध्यागमन विभागले एक सूचना जारी गर्दै गत वैशाख १५ गतेसम्म प्रवेशाज्ञाको अवधि भएका पर्यटकका लागि यही असार ३१ गतेभित्र नेपालबाट प्रस्थान हुँदा लाग्ने शूल्कमा छुट दिइएको जनाएको हो। प्रवेशाज्ञाको अवधि सकिएका विदेशी पर्यटकले नेपालमा थप बस्दा दैनिक तीन अमेरिकी डलर बराबरको प्रवेशाज्ञा शुल्क र त्यस अवधिमा प्रवेशाज्ञा नियमित नहुँदा दैनिक पाँच डलर जरिवानाबापत शूल्क लाग्छ।

विभागको सूचनाअनुसार नेपालमा आफ्नो बसाईं थप गर्नका लागि असार २५ गतेदेखि आवेदन गर्ने र आगामी साउन १ गतेदेखि नेपालबाट प्रस्थान गर्ने विदेशीका हकमा नियमानुसार प्रवेशाज्ञा शूल्क, विलम्ब शुल्क र जरिवाना लाग्नेछ। प्रचलित अध्यागमन कानूनमा रहेको प्रावधानमा एक प्रवेशाज्ञा वर्षमा पर्यटकले १५० दिनसम्म बस्न सकिने व्यवस्था रहेको भए पनि निषेधाज्ञाको अवधि गणना नगर्ने साविककै सूचनाअनुसार बस्न पाउने अवधि २१० दिन कायम गरिएको छ।

प्रकाशित मिति:     २७ असार २०७८, आईतवार  |    Himali Khabar