१७ अर्बको वैदेशिक लगानी स्विकृत

१७ अर्बको वैदेशिक लगानी स्विकृत

काठमाडौं । लगानी बोर्डले करीब ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ । प्रधामन्त्री एवं लगानी बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा मंगलवार सम्पन्न बोर्डको ४७औं बैठकले विभिन्न आयोजनाका गरी करिव ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो ।

बैठकले अनुमानित लागत ५४ करोड अमेरिकी डलर रहेको माथिल्लो तमोर जलविद्युत् परियोजना (२८५ मेगावाट) र अनुमानित लागत ३३ अर्ब ४१ करोड ४० लाख रुपैयाँ रहेको तल्लो मनाङ–मर्स्याङ्दी जलविद्युत् परियोजना (१३९.२ मेगावाट) गरी दुइवटा जलविद्युत् परियोजनाको कुल करीब ९७ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

यसै गरी सार्वजनिक–निजी साझेदारी अवधारणामा झापाको दमकमा निर्माण हुने गरी प्रस्ताव गरिएको मुलुककै सबैभन्दा ठूलो औद्योगिक पार्क–चाइना नेपाल फ्रेन्डसिप इन्डस्ट्रियल पार्कको विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरी विकासकर्तासँग परियोजना विकास सम्झौताका लागि आवश्यक तयारी गर्न लगानी बोर्डको कार्यालयलाई निर्देशनसमेत दिइएको छ ।

यस्तै बैठकले संखुवासभा जिल्लामा निर्माण हुने तल्लो अरुण जलविद्युत् परियोजना (६७९ मेगावाट) को विस्तृत सम्भाव्यता अध्ययनको लागि सर्वेक्षण अनुमतिपत्र जारी गर्न परियोजना विकासकर्ता एसजेभीएन लिमिटेड भारतसँग गरिने समझदारी–पत्रको मस्यौदा पनि स्वीकृत गरेको छ । तमोर जलाशययुक्त जलविद्युत् परियोजना (७५६ मेगावाट) को सर्वेक्षण अनुमति प्रदान गर्ने सम्बन्धमा देखिएका अस्पष्टताहरूलाई सम्बोधन गरी आवश्यक कानूनी सुधार गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

यी बहेक बैठकले पश्चिम सेती र एसआर–६ संयुक्त जलविद्युत् परियोजनाको विकास तथा लगानीको खाका तयार गर्न अध्ययन गरी बोर्डसमक्ष सिफारिश गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक समिति गठन गरेको छ । अरुण–३ जलविद्युत् परियोजना प्रवेश मार्गअन्तर्गत छ्यांकुटी–दिदिङ खण्डमा पर्ने जग्गाको मुआब्जा उपलब्ध गराउने आवश्यक प्रक्रिया अगाडि बढाउन लगानी बोर्डको कार्यालयलाई निर्देशन दिएको छ । लगानी बोर्डको संस्थागत सुधार एवं कार्य प्रणाली व्यवस्थित गर्ने सम्बन्धमा ‘विदेशी मुद्रा सटही एवं स्थानान्तरण सुविधा सिफारिश सम्बन्धी कार्यविधि, २०७८’ स्वीकृत गरिएको छ ।

प्रकाशित मिति:     ९ असार २०७८, बुधबार  |    Himali Khabar