उपत्यकामा अब बार र समय अनुसार पसल खुल्ने , कुन बार र समयमा के खुल्छ, के खुल्दैन !

उपत्यकामा अब बार र समय अनुसार पसल खुल्ने , कुन बार र समयमा के खुल्छ, के खुल्दैन !

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको निषेधाज्ञालाई थप खुकुलो बनाउँदै निजी सवारी साधन सञ्चालनको अनुमति दिएको छ । आज उपत्यकास्थित तीन जिल्लाका सीडीओहरुको बैठकले निजी सवारी जोर–बिजोर प्रणालीमा चल्न दिने निर्णय गरेको हो ।

निजी गाडीमा यात्रा गर्दा बढीमा ४ जनालाई अनुमति दिइने छ । यस्तै, मोटरसाइकलमा दुई जनाले यात्रा गर्न सक्नेछन् । ट्याक्सीहरुलाई पनि जोर बिजोर अनुसार चल्न दिइने भएको छ ।

आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्न दिइने भएको छ । सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ।

खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ भने रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउने भएका छन् । हार्डवेयर पसलहरु दैनिक ११ बजेदेखि बेलुका ६ बजेसम्म खुल्न पाउने भएका छन् । शनिबार अत्यावश्यक बाहेकका पसलहरु खुल्न नपाउने भएका छन् । सरकारी र सार्वजनिक संस्थानका कार्यालयमा सीमित कर्मचारी राखेर मात्र संचालन गर्न अनुमति दिइएको छ ।

प्रकाशित मिति:     ६ असार २०७८, आईतवार  |    Himali Khabar