असार १ देखि निषेधाज्ञा नहट्ने मोडालिटीमा भने परिवर्तन हुने

असार १ देखि निषेधाज्ञा नहट्ने मोडालिटीमा भने परिवर्तन हुने

काठमाडौं । काठमाडौं उपत्यकामा जेठ ३१ सम्मका लागि जारी निषेधाज्ञा अवधि पुरा भएपछि असार १ देखि फरक मोडालिटीमा निषेधाज्ञालाई निरन्तरता दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणदर २९–३० प्रतिशत रहेको अवस्थामा अहिले निषेधाज्ञा अन्त्य गर्नु घातक हुने राय दिएको छ ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक आइतबार बस्दैछ । उक्त बैठकले असार १ देखि फरक मोडालिटीमा निषेधाज्ञालाई निरन्तरता दिने बताइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी रूपमा संक्रमणदर ५ प्रतिशतमाथि जानेबित्तिकै लकडाउनको आवश्यकता देखिने अनुभव रहेको भन्दै संक्रमण दर १० प्रतिशतभन्दा तल नआउँदासम्म कुनै हालतमा बजार र आवतजावत सम्पूर्ण रूपमा खुला गर्न नहुने अडान राख्दै आएको छ ।

असार १ पछि भने निजी सवारी साधन जोर विजोर सञ्चालन गर्न दिने तर यसमा आवतजावतमा पूर्ण रूपमा स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गर्नुपर्नेछ । व्यवसायिक गतिविधि लामो समयदेखि बन्द भएकाले बजार पसल खुला गर्ने नयाँ नियम जारी हुने बताइएको छ । खाद्यान्न लगायत अत्यावश्यक वस्तु बिक्री हुने पसलहरूलाई अलिक लामो समय खुला गर्न दिइने र अन्य पसलहरू खुला गर्ने निश्चित समय तोकिने छ । भाडाकुडा, स्टेशनरी, कस्मेटीक्स, फेन्सी पसलहरू खोल्न निश्चित समय तोक्ने गृहकार्य भैरहेको छ ।

प्रकाशित मिति:     ३० जेष्ठ २०७८, आईतवार  |    Himali Khabar