१६ करोड राजस्व छलीमा दश जना विरुद्ध मुद्दा

१६ करोड राजस्व छलीमा दश जना विरुद्ध मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले झण्डै १६ करोड रुपैयाँ विगो बराबरको राजस्व छली गर्ने १० जना विरुद्ध मुद्दा चलाएको छ । जसमा एक जना भारतीय नागरिक छन् । उनीहरुले भन्सार छली एबं झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक प्रयोग गरी राजस्व चुहावट गरेको तथ्यको आधारमा उच्च अदालतमा मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।

झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको विजक सुनसरीको धरान उप–महानगरपलिका–१२ बस्ने ग्लोवल इम्पेक्स ईन्टरनेशनलका प्रोपाइटर किसनकुमार अग्रवालले चार करोड ४२ लाख विगो बराबरको राजस्व छली गरेको विभागको अभियोग छ । एसएन इन्टरनेशनलका सञ्चालक रामनिवास अग्रवालमाथि विभागले अहिले मुद्दा चलाएको छ । उनले चार करोड ५२ लाख रुपैयाँ विगो बराबरको राजस्व छली गरेको अनुसन्धानमा खुलेको छ ।

यता रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ का श्यामकुमार वानियासमेत दुई जनामाथि पाँच करोड ५० लाख रुपैयाँ र पर्साको वीरगञ्जस्थित भुसा सप्लायर्सका सञ्चालक दिपेन्द्रप्रसाद कलवारसहित ४ जनाले एक करोड रुपैयाँ विगो बराबरको भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेका छन् ।

यस्तै रौतहत वृन्दावन नगरपालिका–६ बस्ने अमनकुमार तिवारीले भन्सार चोरी गरी रु ४० लाख राजस्व चुहावट गरेको विभागले जारी गरेको सूचनामा जनाइएको छ ।

प्रकाशित मिति:     २५ जेष्ठ २०७८, मंगलवार  |    Himali Khabar