काठमाडौं । कोभिड–१९ को संक्रमणको दोस्रो लहर फैलँदै गएकाले उच्च सतर्कतासहित निरन्तर सेवा दिन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ ।राष्ट्र बैंकले सोमवार सूचना जारी गर्दै संक्रमण तीव्र बढेकाले सजग भएर कारोबार गर्न निर्देशन दिएको हो ।
नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवाप्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई कम गर्न निर्देशन दिइएको छ । सेवाग्राहीको भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्थालाई सेवाप्रवाह गर्न भनिएको छ । बैंक तथा वित्तीय संस्थाहरूले प्रदान गर्ने सेवाहरू यथा सम्भव विद्युतीय माध्यमबाट गर्न तथा गराउन केन्द्रीय बैंकले सुझाव दिएको छ ।
बैंकहरूले आफ्ना एटीएम बुथहरूबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी स्यानिटाइजर एवं टिस्यू पेपरको व्यवस्था गर्न पनि भनिएको छ । बैंकहरूले गर्ने बैठक, गोष्ठी, सेमिनार, तालीम जस्ता कार्यक्रमहरूमा भौतिक दूरी सुनिश्चित गर्ने तथा सम्भव भएसम्म भर्चुअल गर्न भनिएको छ । आवश्यकताका आधारमा रिमोट एक्सेस, वर्क फ्रमहोम, सिफ्टअनुसार काम गर्नेलगायतका उपाय अवलम्बन गर्न पनि राष्ट्र बैंकको सुझाव छ ।