सामाजिक सुरक्षा कोषको कारवाहीमा पर्यो ग्लोबल आईएमई बैंक

सामाजिक सुरक्षा कोषको कारवाहीमा पर्यो ग्लोबल आईएमई बैंक

काठमाडौं । सामाजिक सुरक्षा कोषले ग्लोबल आईएमई बैंकलाई कारबाही गरेको हो । कोषको योगदानमा सहभागी नभएको उक्त बैङ्कका एक कर्मचारीको मृत्यु भएपछि मृतकको परिवारले दिएको मागदाबीका आधारमा उक्त बैंकलाई कोषले कारबाही गरेको हो ।

यसअघि कोषले सनराइज बैंकलाई कोषले कारबाही गरेको थियो । अहिले कारबाहीमा परेको उक्त बैकका सञ्चालक नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल कोषका सञ्चालक समिति सदस्य समेत हुन ।

कोषका अनुसार उक्त बैंकमा कार्यरत अन्नतकुमार आचार्यको मृत्युपछि निजले मासिक रूपमा लिँदै आएको ३७ हजार पारिश्रमिकको ६० प्रतिशतका दरले हुने आश्रित परिवार सुविधा योजनाअन्तर्गतको पेन्सन रकम दाबीसहित परिवारले गएको केही दिनअघि कोषमा उजुरी परेको थियो । मृतक आचार्यकी श्रीमती भावना पाठकले बैंकमा कार्यरत रहँदै गर्दा श्रीमान्को मृत्यु भएकाले आश्रित परिवारले सुविधा पाउनुपर्ने माग गरेकी थिइन । उक्त बैंकमा कार्यरत आचार्यको गएको फागुन ८ गते मृत्यु भएको थियो ।

कोषका अनुसार मृतककी श्रीमतीको जन्म २०५१ साल भएकाले नेपालको औसत आयु ७१ वर्षलाई आधारमा मृतक आचार्यको आधारभूत तलब ३७ हजारको ६० प्रतिशतले ४४ वर्षसम्म एकमुष्ट हुन आउने एक करोड १८ लाख ६५ हजार रुपैयाँ पेन्सनबापत र आश्रित छोरी २०७२ माघ ११ गते र छोरा २०७५ साउन १ गतेका आधारमा दुवै सन्ततिले २१ वर्षको उमेरसम्म प्राप्त गर्ने जम्मा शैक्षिक वृत्ति रकम ३२ लाख २९ हजार ४२६ र अन्तिम संस्कार खर्चबापत २५ हजार गरी कुल एक करोड ५१ लाख १९ हजार ५८६ रुपैयाँ उपलब्ध गराउनुपर्नेछ ।

प्रकाशित मिति:     १२ जेष्ठ २०७८, बुधबार  |    Himali Khabar