मङ्सिर १ बाट विद्युतीय राहदानी

मङ्सिर १ बाट विद्युतीय राहदानी

काठमाडौं । आउँदो मङ्सिर १ गतेदेखि विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गरिने भएको छ । आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि नेपालमा औपचारिक रूपमा प्रचलनमा ल्याउन लागिएकाले त्यसैको तयारी स्वरूप परीक्षण वितरण सुरु गर्न थालिएको राहदानी विभागले जनाएको छ ।

अघिल्लो महिनादेखि नै परीक्षण वितरण सुरु गर्ने भनिए पनि बीचमा परेको चाडका कारण एक महिना ढिला गरी विद्युतीय राहदानीको परीक्षण सुरु हुन लागेको हो । विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार परीक्षण सकिएलगत्तै सन् २०२२ को जनवरी महिनाको पहिलो सातादेखि नै विद्युतीय राहदानी प्रचलनमा ल्याउने तयारी विभागको रहेको छ ।

मङ्सिर १ गतेदेखि केही हप्ता विभागबाटै परीक्षणको विद्युतीय राहदानी वितरण गरिने योजना रहेको विभागका निर्देशक तथा प्रवक्ता शरदराज अरनले बताउनुभयो । त्यसपछि औपचारिक वितरण सुरु भएसँगै प्रदेश तथा जिल्ला स्तरमा विद्युतीय राहदानी वितरण गरिनेछ ।

प्रकाशित मिति:     २७ कार्तिक २०७८, शनिबार  |    Himali Khabar