काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयको पद सम्हालेलगत्तै खोप किन्न ५ अर्ब रुपैयाँ विनियोजन गरेका छन्। उनले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो निर्णय स्वरुप खोप किन्न उक्त रकम छुट्याएका हुन्।
यसैगरी उनले स्वास्थ्य मन्त्रालयले पेस गरेको तीनवटा फाइललाई स्वीकृती दिँदै स्वास्थ्य क्षेत्रका कर्मचारीका लागि विशेष जोखिम भक्ताकोसमेत व्यवस्था गरेका छन्। निर्वतमान सरकारले आगामी आर्थिक वर्ष२०७८–७९को बजेटमार्फत खोप किन्न २६अर्ब रुपैयाँ छुट्याएको थियो।
स्वास्थ्यबाट आईसीयू, एचडीयू तथा भेन्टिलेटर खरीद भई भुक्तानीका लागि माग आएको ९६ करोड १२ लाख रुपैयाँ उपलब्ध गराउने सम्बन्धी फाइल समेत सदर भएको छ । प्रादेशिक र स्थानीय अस्पतालाई यसअघि सहमति दिए अनुसार ५२ करोड ४६ लाख रुपैयाँ उपलब्ध गराउन समेत अर्थले फाइल सदर गरेको छ ।
कोभिड सम्बन्धी विभिन्न दायित्व, अस्पतालको सोधभर्ना र जोखिमभत्ता समेतका लागि संघीय स्तरका लागि ५६ करोड ४१ लाख र प्रदेश र स्थानीय तहमा जाने गरी ३७ करोड २४ लाख रुपैयाँ निकासाको फाइल समेत अर्थमन्त्री शर्माले सदर गरेका छन् ।