बुढालिनकण्ठ १० र १२ मा फोहोरमैलाको व्यवस्थापनको टेण्डर विवादमा, नयाँ कम्पनीलाई सुटुक्क ठेक्का !

बुढालिनकण्ठ १० र १२ मा फोहोरमैलाको व्यवस्थापनको टेण्डर विवादमा, नयाँ कम्पनीलाई सुटुक्क ठेक्का !

काठमाडौं । बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १० र १२ मा फोहोर व्यवस्थापनमा सेटिङ गरिएको भन्दै वडा अध्यक्षमाथि प्रश्न उठाइएको छ । सो वडाका वडाअध्यक्षको सेटिङमा नयाँ कम्पनीलाई फोहोर व्यवस्थापनको जिम्मा दिएपछि अहिले वडा अध्यक्षहरू विवादमा तानिएका छन् ।


बुढानिलकण्ठ नगरपालिकाको वडा नं १० र १२ ले अहिले काम गरिरहेका कम्पनीहरूलाई थाहै नदिई गोप्य रूपमा टेण्डरको सुचना निकालेपछि ठेक्का प्रकरणलाई लिएर विवाद शुरू भएको छ । हाल वडा १० मा एमालेका नवराज भट्टराई र १२ मा शम्भु भट्टराई अध्यक्ष छन् ।

लामो समयदेखि वडा नम्बर १२ मा ७ वटा र १० मा ५ वटा कम्पनीले फोहोर व्यवस्थापनमा काम गरिरहेका थिए । तर, ती कम्पनीले टेण्डरको सूचना प्रकाशन भएको थाहै पाएनन् । ‘हामीले वर्षौदेखि काम गरिरहेका छौं । अहिले वडाले सूचना निकालेको समेत थाहा नहुने हुन्छ, हाल काम गरिरहेको एक कम्पनीका प्रबन्धकले नाम नलेख्ने शर्तमा भने, एक वर्षअघि दर्ता भएको कम्पनीलाई ठेक्का दिइएको छ । यो ठेक्का दिनकै लागि ती कम्पनी दर्ता गरिएको प्रष्ट बुझिन्छ ।’ उनले टेण्डर पारदर्शि भएर छनौट भएको भए स्वभाविक मान्न सकिएपनि काम गरिरहेका कुनै पनि कम्पनीले थाहा नपाउनु र गुपचुप ठेक्का लाग्नुमा वडा अध्यक्षहरूकै सेटिङ रहेको दाबी गरे ।

वडा १० को ठेक्का परेको कम्पनी इञ्जोहाङ मल्टिपर्पोज र एबीपी मल्टि पर्पोज प्रालीलाई त सिसडोलमा फोहोर फाल्न सक्ने अनुमतिसम्म नभएको पाइएको छ । फोहोर फ्याँक्न नपाउने कम्पनीलाई किन ठेक्का दिईयो ? वडा अध्यक्षको नियतमाथि शंका गर्ने आधार बलियो बनेको छ ? , वडा नं१० का एक स्थानीयले भने । अहिले सो कम्पनीले जसोतसो उठेको फोहोर व्यवस्थापन गरिररहेको छ ।

उसो त एउटै वडामा ठेक्काबाट दुईटा कम्पनी छना‌ैट हुनुले पनि सेटिङ भएकाा प्रमाणित हुने स्थानीय दाबी गर्छन् । उनीहरूले वडा अध्यक्षविरूद्द नगपालिकामा र अख्तियारमा समेत उजुरी हाल्नेसम्मको तयारी गरेको बताए ।

अहिले सेटिङमा ठेक्का पाएका दुई कम्पनी र पहिला काम गरिरहेका कम्पनीले पनि फोहोर संकलन गरिरहेका छन् । यसले स्थानीय नागरिक कसलाई फोहोर दिने अन्योलमा छन्। यही विवादले वडा नं १० मा अब फोहोर नउठ्ने हो कि भन्ने चिन्तामा रहेको स्थानीय बताउँछन् । उनीहरूले यो विषयलाई लिएर मेयरसँग गुनासो गर्ने तयारी गरेका छन् । मेयर नेपाल बाहिर रहेकाले नेपाल आउनासाथ भेटेरै ध्यानाकर्षण गराउने बताएका छन् ।

प्रकाशित मिति:     ५ फाल्गुन २०८०, शनिबार  |    Himali Khabar