बागमती नगरपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

बागमती नगरपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी

सर्लाही । सर्लाहीको बागमती नगरपालिकामा व्यापक भ्रष्टाचार र अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बागमती नगरपालिकामा जनप्रतिनिधिले कर्मचारीसंग मिलेर भ्रष्टाचार गरेको भन्दै छानबिनका लागि अख्तियारमा उजुरी परेको हो ।

उजुरीमा नगरपालिकामा भएको सडक कालोपत्रे, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा भ्रष्टाचार भएको उल्लेख गरिएको छ । सडक निर्माणका क्रममा गुणस्तरहीन सामाग्री प्रयोग गरिएको र कामभन्दा बढी नापजाँच गर्दै आर्थिक अपचलन गरिएको समेत जनाइएको छ । त्यस्तै नगरपालिकाबाट बजेट पास गर्नका लागि अवैधानिक उपभोक्ता समिति गठन गरेर नक्कली तथा फर्जि विवरणको आधारमा भुक्तानी दिने÷लिने गरिएको पनि उजुरीमा उल्लेख छ ।

त्यस्तै बागमती नदी र पोखरीबाट नदीजन्य पदार्थ ल्याउनका लागि नगरप्रमुख भरतकुमार थापाले आफ्ना व्यापारिक साझेदार रामकृष्ण केसीलाई स्वीकृत दिएको र निज केसीले नदीजन्य पदार्थ उत्खनन गरेबापत एक रुपैयाँ पनि राजस्व नबुझाइएको पनि उजुरीमा उल्लेख गरिएको छ ।

बागमती नदी नजिकै १ सय २१ विगाहामा पोखरी खनेर त्यसबाट निस्किएको ढुंगा, बालुवा बेचेर राजस्व हिनामिना गरिएको उल्लेख गर्दै केही भ्रष्ट कर्मचारी विगत ५ वर्षदेखि त्यही नगरपालिकामा रहेकोले तुरुन्त सरुवाको समेत माग गरिएको छ । उजुरीमा नगरपालिकाका प्रशासकीय अधिकृत विमलकुमार पोखरेल र लेखा अधिकृत विश्वोराज पोखरेलले अनियमितताका लागि मेयरलाई साथ दिइरहेको बताउँदै ती दुईलाई तुरुन्त सरुवा गर्न समेत माग गरिएको छ ।

प्रकाशित मिति:     २३ श्रावण २०७९, सोमबार  |    Himali Khabar