बझाङमा पहिरोले सानीगाड खोला थुनियो

बझाङमा पहिरोले सानीगाड खोला थुनियो

धनगढी । अविरल वर्षापछि आएको पहिरोले बझाङमा दुई घर पुरिएका छन् । बुङ्गल नगरपालिका–६ र ७ मा पर्ने सानीगाड खोलाको माथिबाट आएको पहिरोले दुई घर पुरिएको प्रहरीले जनाएको छ ।

बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले पहिरोले वडा नम्बर ६ का दुई घर पुरेर पूर्ण रुपमा क्षति भएको जानकारी दिए । घर पुरिदा मानवीय क्षति नभएपनि गोठमा रहेका पशुचौपाया मरेका छन् । स्थानीय बले धामीका तीन भैँसी, दुई गोरु, ७ बाख्रा, नरेन्द्र धामीका चार गाई, दुई गोरु र धने दमाइका दुई गाइ पहिरोमा पुरिएर मरेको डीएसपी खड्काले बताए ।

घर पुरिएर विस्थापित भएका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको उनले जानकारी दिए । पहिरोले सानीगाड खोला समेत थुनिएको छ । खोला थुनिएपछि आसपासका बासिन्दालाई सर्तकता अपनाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति:     ४ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar