गृह मन्त्रालयको छानबिन टोली आज दार्चुला जाँदै

गृह मन्त्रालयको छानबिन टोली आज दार्चुला जाँदै

काठमाडौं । भारतीय सुरक्षाकर्मीले तुइनको डोरी फुकाइदिंदा दार्चुलाको व्यास गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन टोली आज दार्चुला जाँदै छ ।

छानबिन समितिका संयोजक एवम् गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको टोली आज दार्चुला प्रस्थान गर्न लागेको हो । टोली सोमबार काठमाडौंबाट हवाईजहाजमार्फत् कैलालीको धनगढी पुग्ने र मंगलबार धनगढीबाट हेलिकप्टर चढेर दार्चुला जाने कार्यक्रम छ ।

छानविन समितिको सदस्यसमेत रहेकी दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले भनिन्, ‘काठमाडौंको टोली आज धनगढी बसेर भोलि दार्चुला आउँछ, त्यसपछि एक राउण्ड छलफल गरेर काम सुरु हन्छ ।’ सहायक प्रजिअ जोशीका अनुसार प्रत्यक्षदर्शीसँग पनि छानविन टोलीले भेट्ने छ ।

भारत तर्फको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा तुइन तरिरहेका ३३ वर्षीय धामी तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । सो घटनाबारे सत्य तथ्य छानविन गरी १० दिन भित्र प्रतिवेदन पेश गर्न गृहमन्त्री बालकृष्ण खाँणले पाँच सदस्यीय समिति गठन गरेका थिए ।

प्रकाशित मिति:     १८ श्रावण २०७८, सोमबार  |    Himali Khabar