सरकारी मोटरसाइकलमा सवार वडाध्यक्ष ब्राउनसुगरसहित पक्राउ

सरकारी मोटरसाइकलमा सवार वडाध्यक्ष ब्राउनसुगरसहित पक्राउ

पर्सा । पर्सा पकाहामैनपुर गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष अमेरिका सहनीसहित तीन जनालाई प्रहरीले लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ। आइतबार राति इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले ५५ वर्षीय सहनीसहित तीन जनालाई ७९ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार पक्राउ पर्ने अन्य दुई जना ४० वर्षीय बलिष्टर सहनी र ५२ वर्षीय रामआदेश सहनी रहेका छन्। खनालका अनुसार ना१ब ३५९५ नम्बरको पल्सर मोटरसाइकलमा वडाध्यक्ष अमेरिका र रामआदेश सवार थिए।

प्रहरीले सोही मोटरसाइकलको फिल्टर बक्सबाट ब्राउनसुगर फेला पारेको थियो।

प्रकाशित मिति:     ४ श्रावण २०७८, सोमबार  |    Himali Khabar