तारकेश्वरका ७५० परिवारलाई खाद्यान्न सहयोग गरिँदै, वितरणको जिम्मा तारकेश्वर डेभलपमेन्ट फोर्सलाई

तारकेश्वरका ७५० परिवारलाई खाद्यान्न सहयोग गरिँदै, वितरणको जिम्मा तारकेश्वर डेभलपमेन्ट फोर्सलाई

काठमाडौं । बोधिसत्व बिहारको सहकार्यमा एन्जिलिना शिवशक्ति ट्रस्टले नुवाकोटको तारकेश्वर गाउँपालिकाका ७५० परिवारलाई खाद्यान्न सहयोग गर्ने भएको छ । बिहीबार एक वक्तव्य जारी गर्दै ट्रस्टका अध्यक्ष शिव अधिकारी अविरलले शारीरिक रुपमा असक्त, अपाङ्ग, दलित, एकल महिला लगायत निम्न आय भएका पारिवारको जीविकोपार्जनलाई सहज बनाउन प्रतिपरिवार २५ किलो चामल, १० किलो दाल, ५ किलो गेडागुडी, ३ लिटर तेल, २ प्याकेट नुन र मसला प्रदान गर्न लागेको बताएका छन् । त्यस्ता परिवार पहिचान गर्ने र सहयोग वितरण गर्ने जिम्मा भने तारकेश्वर डेभलपमेन्ट फोर्सलाई दिइएको छ ।

‘तारकेश्वरको सामाजिक अभियान अन्तर्गत हालै मात्र गठित तारकेश्वर डेभलपमेन्ट फोर्सका गाउँपालिका कमिटी र वडा कमिटीका साथीहरुलाई गाउँपालिका भित्रका त्यस्ता घरपरिवारबारे अध्ययन, अनुगमन गरी विस्तृत विवरण पेश गर्न हार्दिक अनुरोध गर्दछौं,’ अधिकारीको वक्तव्यमा लेखिएको छ ।

ट्रस्टका अध्यक्ष अधिकारी संरक्षक रहेको तारकेश्वर डेभलपमेन्ट फोर्सले कोरोना विरुद्धको अभियानमा स्वयंसेवी संस्थाको रूपमा काम गर्दै आएको छ । गत साता मात्रै फोर्स मार्फत ७ लाख बराबरको स्वास्थ्य सामग्री तारकेश्वरका टोल टोलमा वितरण गरिएको थियो । अधिकारीकै सक्रियतामा तारकेश्वरकाे विकासमा सहकार्य गर्ने अभियानका रूपमा केही साताअघि गठन गरिएको फोर्समा १५० भन्दा बढी युवा जोडिएका छन् ।

संरक्षक अधिकारी डेढ दशकदेखि समाजसेवामा सक्रिय छन् । भूकम्पछि मात्रै उनले विभिन्न संघसंस्थासँग समन्वय गरी तारकेश्वरमा विद्यालय, अस्पताल, सडक, क्लब, सामुदायिक भवन, मन्दिर, गुम्बा र खानेपानी आयोजना गरी पूर्वाधार निर्माण र पुनर्निर्माणका क्षेत्रमा दर्जनौँ आयोजना सम्पन्न गरिसकेका छन् । महिला सशक्तीकरण र युवा जागरण अभियान चलाएर उल्लेख्य चर्चा कमाएका अधिकारीले कोरोना महामारी सुरु भएयता कोरोनाको रोकथाम र उपचारका लागि करोडौँको स्वास्थ्य सामग्री तारकेश्वर भित्र्याइसकेका छन् ।

‘हामीले लामो समयदेखि तारकेश्वरमा विकासको अभियान चलाइरहेका छौं । अब भने स्थानीय स्तरबाटै विकासको अभियान सञ्चालन होस् भनेर तारकेश्वरको विकासको सारथि बन्ने अभियानका रूपमा तारकेश्वर डेभलपमेन्ट फोर्स गठन गरेका हौं,’ हामीसँगकाे संक्षिप्त कुराकानीमा अधिकारीले भने, ‘विकासका कार्यमा युवाहरूको अपनत्व स्थापित गर्न र आफ्नो वडा र गाउँपालिकाकाे सर्वाङ्गीण विकासमा समन्वय, सहकार्य र खबरदारी गरी विकासका परियोजनाहरूलाई थप प्रभावकारी बनाउन फोर्सको भूमिका महत्वपूर्ण रहन्छ ।’

फोर्सका अध्यक्ष भोटु तामाङले एक साताभित्रै अध्ययन पूरा गरी सहयोग गर्नैपर्ने अवस्थाका ७५० परिवारको विवरण प्रस्तुत गर्ने बताएका छन् । ट्रस्टका अध्यक्ष अधिकारीका अनुसार विवरण तयार हुनेबित्तिकै सहयोग वितरण सुरु हुनेछ ।

प्रकाशित मिति:     १० असार २०७८, बिहीबार  |    Himali Khabar