काठमाडौं । काठमाडौं महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुट दिने भएको छ । आर्थिक बर्ष २०७८/७९को नीति तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा कोभिड–१९ महामारीबाट प्रभावित करदातालाई विशेष कर छुटको व्यवस्था गर्ने जनाइएको हो ।
“यसका लागि बहालमा बस्ने व्यक्तिको लगत र सम्झौता वडा कार्यालयमा पेश गर्ने घरधनीलाई घरबहाल रकममा १० प्रतिशत वा २५ हजार रुपैयाँ मध्ये जुन कम हुन्छ सोही रकम बराबर छुट दिइनेछ, यस कार्यका लागि निजी क्षेत्रसमेत परिचालन गरिनेछ”, नीति तथा कार्यक्रममा उल्लेख छ, “कामपालाई बुझाउनुपर्ने कर, सेवा शुल्क तथा जरिवाना बैंकिङ वा विद्युतीय प्रणालीबाट भुक्तानी गर्ने सेवाग्राहीलाई सहुलियत दिइनेछ, कोभिड–१९ महामारीबाट प्रभावित करदाता तथा सार्वजनिक– निजी साझेदारीअन्तर्गत सञ्चालित कार्यक्रमलाई छुट/सहुलियत दिइनेछ ।”
कोभिड–१९ बाट प्रभावित व्यवसाय (होटल, रेस्टुरेन्टलगायतका क्षेत्र) लाई उल्लेख्य छुट दिने नीतिमा उल्लेख छ । शहरी सेवा वितरणलाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायसँगको सहकार्यमा कामपा क्षेत्रमा अस्थायीरूपमा बसोबास गर्ने व्यक्तिको लगत राखिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।